प्रगतिशील साहित्यकार श्रीदास बेकारीको गौरव ग्रन्थ लोकार्पित

साम्दोङ, १ नोभेम्बर:

नेपाली साहित्यको प्रगतिशील धारका विशिष्ट स्रष्टा स्वर्गीय श्रीदास बेकारीको साहित्यिक योगदान, व्यक्तित्व र कृतित्वलाई अभिलेखीकरण गर्दै भावी पुस्तासम्म पुर्‍याउने उद्देश्यले प्रकाशित ‘श्रीदास बेकारी गौरव ग्रन्थ’ आइतबार घुमाउने डाँडा, साम्दोङमा आयोजित विशेष समारोहबीच लोकार्पण गरिएको छ। श्रीदास बेकारी स्मृति संस्थानको आयोजनामा साम्दोङ उच्चतर माध्यमिक विद्यालयमा सम्पन्न समारोहमा क्षेत्र विधायक साम्डुप छिरिङ भोटियाको अध्यक्षता रहेको थियो।


स्वर्गीय बेकारीको स्मृतिलाई चिरस्थायी बनाउँदै नेपाली साहित्यमा उनले पुर्‍याएको योगदानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले प्रकाशित यस ग्रन्थलाई साहित्यिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण दस्तावेजका रूपमा लिइएको छ।
समारोहको प्रारम्भमा अतिथिहरूले स्वर्गीय श्रीदास बेकारीप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए। गान्तोकका जिल्ला अध्यक्ष बलराम अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रममा साम्दोङ उच्चतर माध्यमिक विद्यालयका विद्यार्थीहरूले प्रस्तुत गरेको नेपाली सांस्कृतिक नृत्यले समारोहलाई सांस्कृतिक गरिमा प्रदान गरेको थियो।


कार्यक्रमलाई सम्बोधन गर्दै समारोहका अध्यक्ष तथा क्षेत्र विधायक साम्डुप छिरिङ भोटियाले श्रीदास बेकारीको स्मृतिमा गौरव ग्रन्थ प्रकाशन गर्ने पहलका लागि स्थानीयवासीप्रति आभार व्यक्त गरे। उनले बेकारीको साहित्यिक योगदानले सिक्किमेली समाजमा शिक्षा र साहित्यको विकासमा महत्त्वपूर्ण प्रभाव पारेको उल्लेख गरे।


पत्रकार तथा साहित्यकार पुण्य कोइरालाले श्रीदास बेकारीको जीवन, साहित्यिक व्यक्तित्व र सिर्जनात्मक अवदानमाथि परिचयात्मक मन्तव्य प्रस्तुत गरे। यसै क्रममा प्रणिता शर्माले बेकारीद्वारा रचित कविता वाचन गरिन्। साम्दोङ उच्चतर माध्यमिक विद्यालयका विद्यार्थी अर्जुन भट्टराई र गीताञ्जली कोइरालाका साथै कवि नर्बदा मङ्गर, तुलशा शर्मालगायतले कविता वाचन गरेर साहित्यिक श्रद्धा व्यक्त गरे।
साहित्यकार भीम ठटालले श्रीदास बेकारीलाई साम्दोङको जीवन थिङका रूपमा चित्रण गर्दै उनी समाजका सबै वर्ग र समुदायका लागि प्रेरणाका स्रोत रहेको बताए। शारीरिक असक्षमताका बाबजुद बेकारीले आफूलाई कहिल्यै कमजोरका रूपमा प्रस्तुत नगरेको उल्लेख गर्दै उनले जीवनभर आफ्ना सीमितताहरूलाई चुनौती दिँदै सिर्जनात्मक कर्ममा निरन्तरता दिएको बताए।


लोकार्पित गौरव ग्रन्थमाथि समीक्षात्मक मन्तव्य राख्दै विजयकुमार सुब्बाले ग्रन्थको विषयवस्तु, साहित्यिक महत्त्व तथा स्रष्टाको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारे। यस अवसरमा श्रीदास बेकारी स्मृति संस्थानले साहित्यकारकी ९३ वर्षीया आमा विष्णुमाया भट्टराईलाई अभिनन्दन गरेको थियो। आमाको योगदान र त्यागबारे पर्शुराम नेपालले मन्तव्य प्रस्तुत गरे। साहित्यकार डा. हेमन्त कुमार नेपालले पुस्तक एवम् लेखकको योगदानबारे आफ्नो विचार राखे।
समारोहमा नेपाली साहित्य परिषद् सिक्किमका अध्यक्ष हरि ढुङ्गेल, साहित्यकार रुद्र पौड्याल, भालेढुङ्गा साहित्यिक संस्थाकी अध्यक्ष गीताश्री शर्मा, समाजसेवी टीबी छेत्री, मुख्यमन्त्री कार्यालयका संसाधन अधिकारी सूर्जे प्रधानलगायत साहित्यकार, बुद्धिजीवी, शिक्षासेवी, स्थानीय व्यक्तित्व तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। ग्रन्थ प्रकाशनमा योगदान पुर्‍याउने लेखकहरूलाई यस अवसरमा पुस्तक हस्तान्तरणसमेत गरियो।


श्रीदास बेकारी स्मृति संस्थानको यस पहलले एक प्रतिभाशाली स्रष्टाको साहित्यिक अवदानलाई दस्तावेजीकरण गर्नुका साथै नेपाली भाषा, साहित्य र सिर्जनात्मक चेतनाको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। विशेषतः नयाँ पुस्तालाई साहित्यिक सिर्जना र अध्ययनप्रति अभिप्रेरित गर्न यस्ता स्मृति प्रकाशनले प्रेरणादायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रमको अन्त्यमा अर्जुन नेपालले धन्यवाद ज्ञापन गरेका थिए। सम्पूर्ण कार्यक्रमलाई कवि गोपाल ढकालले सञ्चालन गरेका थिए।

By Admin_Pratibeemba

Leave a Reply

Your email address will not be published. Required fields are marked *