नेपाली वर्णमालाबाट हराउँदै गएका अक्षरहरू पुनर्स्थापित गर्न आदेश जारी

भारतको सिक्किम उच्च अदालतले नेपाली वर्णमालाबाट हराउँदै गएका अक्षरहरू पुनर्स्थापित गर्न आदेश जारी गरेको छ। अदालतले ण, श, ष, ड, ढ, क्ष, त्र, ज्ञ, ऋ लगायतका पारम्परिक नेपाली अक्षरहरूको प्रयोग अनिवार्य गर्न भनेको हो। मुख्य न्यायाधीश विश्वनाथ सोमाद्दार र न्यायाधीश मिनाक्षी मदन राईको इजलासले दिएको यो आदेशलाई नेपाली भाषा र संस्कृतिको संरक्षणतर्फको ऐतिहासिक कदमका रूपमा लिइएको छ।

यो आदेश सिक्किम निवासी नेपाली भाषाका वरिष्ठ शिक्षक र साहित्यकार धनराज गुरुङले दायर गरेको रिटपछि आएको हो। उनले आधुनिक शिक्षण पद्धतिले पुराना अक्षरहरू हटाउँदा नेपाली भाषाको मौलिकता र शुद्धता हराउँदै गएको भन्दै अदालतको हस्तक्षेप माग गरेका थिए।

अदालतले आदेशमा भनेको छ, “भाषा केवल संवादको माध्यम होइन, यो पहिचान र संस्कृतिको आधार हो, त्यसैले वर्णमालाको संरक्षण अनिवार्य छ।”

सो आदेश अनुसार ६ सदस्यीय समिति गठन गरिएको छ, जसले सिक्किमका विद्यालय र विश्वविद्यालयमा पुराना अक्षरहरूको प्रयोग पुनः लागू गर्ने जिम्मा पाएको छ। साथै, ती अक्षर बेवास्ता गर्ने किताबहरूलाई शिक्षण संस्थामा स्वीकृति नदिन निर्देशन दिइएको छ।

तर, जहाँ सिक्किम भाषिक मौलिकता जोगाउने दिशामा अघि बढेको छ, नेपालमा भने यस्ता अक्षरहरू बिस्तारै प्रयोगबाट हराउँदै गएका छन्। विद्यालयदेखि पत्रपत्रिका र सरकारी दस्तावेजसम्म ‘ण’को सट्टा ‘न’ र ‘श’को सट्टा ‘स’ प्रयोग सामान्य भइसकेको छ।

भाषाविद्हरूका अनुसार नेपालमा पनि यस्ता अक्षरहरूको पुनर्स्थापना र सचेतना अभियान सुरु नगरे नेपाली भाषाको शुद्धता र ऐतिहासिक पहिचान कमजोर हुँदै जाने खतरा छ।

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *