एसकेएम अध्यक्ष पीएस गोलेले लिए दोस्रोपटक मुख्यमन्त्रीको रूपमा पद अनि गोपनीयताको शपथ

एसकेएम अध्यक्ष पीएस गोलेले लिए दोस्रोपटक मुख्यमन्त्रीको रूपमा पद अनि गोपनीयताको शपथ, मुख्यमन्त्री प्रेम सिंह तामाङको मन्त्रीमण्डलमा सोनाम लामा, अरुण कुमार उप्रेती, साण्डुप लेप्चा, भीमहाङ लिम्बु, भोजराज राई, जीटी ढुंगेल, पुरण कुमार गुरुङ, पिन्चो नामग्याल लेप्चा, नर बहादुर दाहाल, राजु बस्नेत र छिरिङ ठेण्डुप भोटियाले पाएँ स्थान

सरोज गुरुङ

11 औं सिक्किम विधानसभा चुनाउमा प्रचण्ड जीत हासिल गरेर लगातार दोस्रोपटक राज्यको सत्तामा आसिन बन्न सफल एसकेएम पार्टीका अध्यक्ष एवं विधायक दलका नेता प्रेम सिंह तामाङ (गोले)-ले मुख्यमन्त्रीको रूपमा पद अनि गोपनीयताका शपथ लिएका छन्। गान्तोक पाल्जोर स्टुडियममा आयोजित शपथ कार्यक्रममा राज्यपाल लक्ष्मणप्रसाद आचार्यले मुख्यमन्त्री गोलेलाई शपथ दिलाएका हुन्। एसकेएम अध्यक्ष एवं मुख्यमन्त्री पीएस गोलेको नेतृत्वमा एसकेएम पार्टीले हालै सम्पन्न सिक्किम विधानसभा चुनाउमा एसकेएम पार्टीले 32 मध्ये 31 आसनमा जीत हासिल गरेका थिए। 2019-को चुनाउमा 17 वटा आसनमा मात्रै जीत हासिल गरि सरकारमा पुगेका एसकेएम पार्टीले 2024-को चुनाउमा प्रचण्ड जनादेश प्राप्त गरेका छन्।

मुख्यमन्त्री गोले 1994 देखि लगातार सातौँ पटक सिक्किम विधानसभाका सदस्यको रूपमा निर्वाचित भएका छन्। उनी च्याखुङ निर्वाचन क्षेत्रबाट 1994-2009 सम्म तीनपटक विधायक बने। त्यसपछि 2009 र 2019-को विधानसभा चुनाउमा उनी अपर बुर्तुक समष्टिका विधायकको रूपमा निर्वाचित भने 2019 को चुनाउमा पोक्लोक कामराङ समष्टिको उप-चुनाउमा जीत हासिल गरि विधायक बने। 2024-को चुनाउमा सोरेङ-च्याखुङ र रिनाक समष्टिबाट भारी मतले विजयी बनि मुख्यमन्त्री गोले सिक्किम विधानसभाका लगातार सातौँपटक सदस्य निर्वाचित भएका छन्। उनी चारपटक एसडीएफ र तीनपटक एसकेएम पार्टीबाट विधायक बनेका हुन्। एसडीएफ पार्टीका अध्यक्ष पवन चामलिङसँग सैधान्तिक र बैचारिक मतभेद भएपछि गोलेले 4 फरवरी, 2013-मा एसकेएम पार्टी जन्माए। एसकेएम पार्टीले 2014-को चुनाउमा 10 वटा आसन मात्र जितेर विपक्षी भूमिका निर्वाह गरे। त्यसपछि 2019-को चुनाउमा 17 आसनमा जीत हासिल गरि झिनो बहुमतको साथमा एसकेएमले सरकार गठन गरि पार्टी अध्यक्ष गोले पहिलोपटक मुख्यमन्त्री बने। यसपालि प्रचण्ड जीतको साथमा दोस्रोपटक उनी मुख्यमन्त्री बनेका छन्। मुख्यमन्त्री गोलेले यसपटक चुनाउमा जीत हासिल गरेका दुईवटा समष्टि मध्ये कुन समष्टिलाई छोड्ने हुन् यो पनि चासोको विषय छ। मुख्यमन्त्री प्रेम सिंह तामाङको मन्त्रीमण्डलमा सोनाम लामा, अरुण कुमार उप्रेती, साण्डुप लेप्चा, भीमहाङ लिम्बु, भोजराज राई, जीटी ढुंगेल, पुरण कुमार गुरुङ, पिन्चो नामग्याल लेप्चा, नर बहादुर दाहाल, राजु बस्नेत र छिरिङ ठेण्डुप भोटियाले स्थान पाएँका छन्। मुख्यमन्त्री गोलेको दोस्रो कार्यकालको मन्त्री परिषदमा 7 जना नयाँ अनुहारले जग्गा पाएका छन् भने पहिलो एसकेएम सरकारका पाँचजना मन्त्रीहरु बीएस पन्त, एमएन शेर्पा, सञ्जित खरेल, लोकनाथ शर्मा र एलबी दासले दोस्रो कार्यकालको मन्त्रीमण्डलमा स्थान पाएनन्। आज गठित मन्त्री परिषदमा एसकेएम सरकारको पहिलो कार्यकालमा झैँ यो पटक पनि महिला विधायकहरुले स्थान पाएनन्। सिक्किमको 6 वटा जिल्ला मध्ये पाँचवटै जिल्लाबाट मन्त्री परिषदमा प्रतिनिधित्व पाए पनि सोरेङ जिल्लाबाट मुख्यमन्त्री गोले बाहेक अरुले मन्त्रीको रुपमा स्थान पाएनन्।

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *