गृहमन्त्री अमित शाहको सिक्किम भ्रमणको तयारीका लागि मुख्यमन्त्रीद्वारा समन्वय बैठक

मुख्यमन्त्री प्रेम सिंह तमाङले साम्मान भवनमा बैठक अध्यक्षता गर्दै भारतका केन्द्रीय गृहमन्त्री श्री अमित शाहको आसन्न सिक्किम भ्रमणका तयारीको समीक्षा गर्नुभएको छ।
बैठकमा भ्रमणका कार्यक्रमहरू, आवास व्यवस्था, सुरक्षा तथा विभिन्न विभागबीचको समन्वय सम्बन्धी विषयमा विस्तृत छलफल गरिएको थियो। मुख्यमन्त्रीले सबै तयारीहरू समयमै सम्पन्न गर्न निर्देशन दिँदै सिक्किमको आत्मीयता र आतिथ्य संस्कृतिको परम्परालाई उच्च स्तरमा कायम राख्नुपर्ने बताउनुभयो। कार्यक्रममा हुने अन्तिम स्थल पछि सार्वजनिक गरिनेछ।
गृहमन्त्री शाहको भ्रमणको क्रममा “राष्ट्रिय सहकारी सम्मेलन–२०२५” आयोजना गरिनेछ। साथै, सिक्किमको विकास, सहकारी आन्दोलन सुदृढीकरण र राज्यभरका विकास अवसरहरूलाई तीव्रता दिनका लागि विभिन्न महत्वपूर्ण परियोजनाहरूको भर्चुअल उद्घाटन तथा शिलान्यास समेत हुनेछ।
मुख्यमन्त्रीले आगामी नोभेम्बरमा प्रस्तावित प्रधानमन्त्री नरेन्द्र मोदीको सिक्किम भ्रमणको प्रारम्भिक तालिकाबारे पनि समीक्षा गर्दै प्रमुख कार्यक्रम, तयारी तथा समन्वय कार्यहरू सुचारु ढंगले सम्पन्न गर्न सम्बन्धित निकायहरूलाई आवश्यक निर्देशन दिनुभएको छ।
