चुनाउ पछि बस्यो एसडीएफको केन्द्रिय कार्यकारिणी समितिको सभा

चुनाउ पछि बस्यो एसडीएफको केन्द्रिय कार्यकारिणी समितिको सभा

सिक्किमको गुमेको प्रतिष्ठा फिर्ता गर्न जनताले एसडीएफलाई सरकारमा फिर्ता गर्ने निर्णय गरेका छन् : श्री चामलिङ

सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ ) अध्यक्ष श्री पवन चामलिङले भने, एसडीएफ पार्टीको पहिलो धर्म र कर्म नै सिक्किमको शान्ति, सुरक्षा सुनिश्चित गर्नु हो। यसैले एसडीएफ पार्टीका कार्यकर्ता र नेताले शान्ति सुरक्षा कायम गर्नुपर्छ। हामीलाई जनताले शान्ति र सुरक्षाका लागि मतदान गरेका छन्, यसैले जनताको विश्वासमा हामी खडा हुनसक्नुपर्छ।

मंगलबार इन्दिरा बाईपासस्थित एसडीएफ भवनमा पार्टीको केन्द्रिय कार्यकारिणी समिति (सीईसी)-को सभालाई सम्बोधन गर्दै एसडीएफ अध्यक्ष श्री चामलिङले यस्तो विचार राखेका हुन्। पार्टी पदाधिकारीहरूलाई सम्बोधन गर्दै श्री चामलिङले भने, यसपालीको चुनाउ परिणामले सिक्किम र सिक्किमेली जनताको भाग्य र भविष्यको दिशा तय गर्नेछ। उनले भने, एसडीएफ सरकार गठन भयो भने सिक्किम र सिक्किमेली जनताको सुरक्षा हुनेछ, सिक्किममा शान्ति कायम हुनेछ अनि सिक्किममा सिक्किमेको राज हुनेछ।

लोकसभा र विधानसभा चुनाउपछि पहिलोपल्ट बसेको पार्टीको केन्द्रिय कार्यकारिणी समिति (सीईसी) को सभामा श्री चामलिङले भने, वर्तमान सरकारले जनताको मनोभावना अनुसार काम गर्न सकेन, 2019 को चुनाउमा जनतालाई दिएका वचन पुरा गर्न सकेन अनि सिक्किम र सिक्किमे जनताको हित विपरीत काम गरेका कारण नै जनताले एसडीएफलाई सरकारमा फर्काउने निर्णय गरेका छन्। अब हामीले जनताको इच्छा, आकांक्षा र विश्वास अनुसार सिक्किम र सिक्किम जनताको हित र जीतका लागि काम गर्नु पर्नेछ। उनले भने, जनताले हामीलाई सिक्किमको गुमेको प्रतिष्ठा फिर्ता गर्न सरकारमा फिर्ता गर्ने निर्णय गरेका छन्।

एसडीएफ अध्यक्षले भने, बितेको पाँच वर्षमा सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) सरकारले सिक्किमे जनतालाई अन्याय, अपमान, अत्याचार गरेको छ। सिक्किमको अस्तित्व संकटमा पारेको छ। राज्यको शान्ति सुरक्षा भङ्गभएको छ, कानुनको राज समाप्त भएको छ, आर्थिक अवस्था लथालिङ्ग भएको छ। उनले जनताले सिक्किमको भाग्य र भविष्य बनाउन अनि सिक्किमलाई व्यवस्थित गरेर ट्रऱ्याकमा ल्याउन भनेर एसडीएफलाई सरकारमा पुऱ्याउने निर्णय गरेका हुन्। हामीले जनताको निर्णयलाई सम्मान गरेर जनाकांक्षा अनुसार काम गर्नुपर्नेछ।

एसडीएफले जित्दा सिक्किमेको जीत हुनेछ, सिक्किममा शान्ति स्थापना हुनेछ, जनताको मनमा शान्ति हुनुपर्नेछ भन्दै उनले पार्टीका नेता र कार्यकर्तालाई चुनाउ परिणाम पछि शान्ति सुरक्षा सुनिश्चित गर्न आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देश दिँदै हामीले जनताप्रति विश्वासघात गर्नु हुँदैन भने। उनले जनतालाई धम्की दिने, कुटपिट गर्ने काम हाम्रो पार्टीका कार्यकर्ताहरूले गर्नु हुँदैन भन्दै सिक्किमेली जनतालाई शान्ति र सुरक्षा दिनु हाम्रो कर्म पनि हो धर्म पनि हो, भने।

श्री चामलिङले भने, आउँदो एसडीएफ 2.0 को सरकार नयाँ पुस्ताको संस्कारित सरकार हुनेछ। कानुनमा चल्ने सरकार हुनेछ। हामीले सबैमाथि समान व्यवहार गर्नुपर्छ। यसले नयाँ सरकार चारित्रिक रूपमा परिवर्तन भएको सरकार हुनेछ, जनताको सरकार हुनेछ। हाम्रो दृष्टिकोमा व्यापक परिवर्तन हुनेछ।

उनले नयाँ सरकारमा जनताले केवल कानुनसँग र भगवानसित मात्र डराउनु पर्ने बताउँदै सिक्किममा विधिको शासन स्थापना गरेर सिक्किमेको हक अधिकारको सुरक्षा एसडीएफ 2.0 सरकारमा हुने बताए।

श्री चामलिङले आउँदो सरकार जनताको कल्याण, विकास र सुरक्षा गर्ने सरकरार हुनेछ भन्दै सरकार जनताको मन अड्याउने ठाउँ बन्नेछ भने। उनले आउँदो सरकारमा कसैमाथि भेदभाव नहुने, कुनै प्रकारको राजनीतिक भिक्टिमाइजेसन नहुने, राजनीतिक उत्पीडन नहुने वचन दिँदै भने, हामी जनताको हक हित र अधिकारसित कदापी सम्झौता गर्नेछैनौं। श्री चामलिङले जनतालाई लोकतान्त्रिक अधिकार प्रयोग गर्दै चुनाउमा सक्रियताका साथ सहभागिता जनाएकोमा बधाई दिँदै कृतज्ञता प्रकट गरे। उनले चुनाउमा खट्ने सबै तहका पार्टीका नेता र कार्यकर्ताहरूलाई उनीहरूको परीश्रम, त्याग र योगदानका लागि कृतज्ञाता प्रकट गरे।

यसभन्दा अघि पार्टीकी संस्थापक सदस्य सिच्चे निवासी श्रीमती आशमाया राईलाई सभाले श्रद्धाञ्जली अर्पण गरेको थियो।

कृष्ण खरेल

उपाध्यक्ष,प्रचार प्रसार मामिला

एसडीएफ।

28.05.2024

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *