नामफीङ छलमथाङमा छोरीहरूले गरे अन्तेष्टि क्रिया : एक मार्मिक घटना
सिक्किम राज्यको गान्तोक जिल्ला अन्तर्गत छलमथाङमा उप्रेती परिवारले भोग्नु परेको विधिको विधान अत्यन्त मार्मिक छ। जन्मदिने बाबा-आमाको काखमा जन्मिएका चार छोरीहरूले नेपाली हिन्दु संस्कृति मै एक अतुल्य उदाहरणको कार्य सम्पन्न गरे। गान्तोकको एसटीएनएम अस्पतालमा आईसीयू मै उपचाराधीन रहेकी माता नर माया उप्रेतीको निधनको दुखद घटना पछि मातृ वियोगको पारम्परिक अन्तेष्टि क्रिया गर्ने विषय लिएर माहौल अनभिज्ञ थियो। अब अन्तेष्टि क्रियाको भार पुत्र नभएको परिवारमा कस्ले उठाउलान भन्ने जिज्ञासा र गोपनीय खोज एक आपसी अन्तरक्रियामा महसुस भइरहेको थियो। एक तर्फ मातृ वियोगको पिड़ा छँदैछ। भोली डिस्चार्ज भएर आमा घर फर्किने उमंगमा प्रतिक्षामा रहेको परिवारले भोग्नु परेको दैवको प्रहारलाई सहन गर्न सहज थिएन। माता-पिताको सेवामा समर्पित छोरीहरूले आमाको अन्तेष्टि आफै गर्छौं भन्ने अड़िग निर्णय लिएपछि कौतुहलताको अंधकारलाई सूर्यको नँया ज्योतीले मेटिदियो। कुनै प्रश्न उठ्न सकेन। नामफिङ-छलमथाङको शिक्षित समाजको बौद्धिकता यहाँ प्रशंसाको पात्र बन्न जान्छ। परम्परागत संस्कृतिलाई छोरी-नारीहरूले पनि उति नै मान-मर्यादा अनुरूप पालन गर्न सक्छन् भन्ने अठोट लिएर आफ्नै आमाको पार्थिव शरीरलाई काँध दिने छोरीहरूले टिस्टा नदिको तीरमा मुखाग्नि दिँदा पुरूषप्रधान सोचलाई समानतातर्फ ढल्काउने अवधारणाको ज्वालोमा एक नारी कै पार्थिव शरीर पञ्चतत्वमा विलीन भइरहेको थियो।
दुर्भाग्यवस, ममतामयी माताको क्रियाको चौथो दिन आँट र साहसका धनी ती छोरीहरूका अघि दैवले अर्को बज्र प्रहार गर्यो। ब्रम्हमुहूर्तको समय आफै पानी पिएर हिड़ेरै गएर गाड़ीको सीटमा बसेका पिताश्री गंगा प्रसाद उप्रेतीको जीवनलिला क्षण भरमै समाप्त भयो। ती छोरीहरूले अब के गुमाउनै बाँकी थियो र। सत्यलाई स्वीकार्नै पर्यो। केहि बेर नबित्दै कोरामा बसेका छोरीहरू स्वयंले बाबुको पार्थिव शरीरलाई काँध दिएर सेतो वस्त्र मै मुखाग्नि/दागबत्ती दिएको दृश्य जति हृदयविदारक थियो उति नै नँया पीढ़ीको युगलाई छोरीभित्रको अदम्य सहन शक्ति, नारी जागृति एंव रूढ़िवादी सामाजिक सचेतनाको निम्ति क्रियापुत्रीबाट दिब्य संदेश प्रवाह भइरहेको थियो। छोरीहरू मध्ये देवकी, देवी, संगिता दिदीहरूबाट नियतिले कान्छी बहिनी रितालाई अस्पताल लगेर सन्तानसुखको उपहार दिँदा, उनले आमा-बाबाको अन्तिम विदाइबाट टाढ़ै रहनु पर्ने प्राकृतिक बाध्यतालाई पनि सहन गर्नै पर्यो। अस्पतालकै बेडमा बसेर प्रसुतीको पिड़ाबीच यति ठूलो दैविक प्रहार झेलेर सकुशल परिवारलाई सन्तानको सुख दिने ती छोरीको अथाह शक्ति पनि नमन योग्य छ।
नियतिलाई स्वीकारेर बुवा-आमाको मृत्यु पछि सम्पूर्ण कर्म सिद्द गर्ने ती महान छोरीहरूलाई सत-सत-नमन, प्रणाम।


-Yadop Swaraj
