१०,००१ एमएएच ब्याट्री भएको रियलमी फोन सार्वजनिक, एक पटकको फुल चार्जमा ३२ घण्टा भिडिओ हेर्न सकिने रियलमीले शक्तिशाली ब्याट्री भएको नयाँ स्मार्टफोन ‘रियलमी पी फोर पावर’ (Realme P4 Power) सार्वजनिक गरेको छ । कम्पनीले पहिलो पटक १०,००१ एमएएचको ब्याट्री क्षमतासहित यो फोन बजारमा ल्याएको हो ।

नयाँ जेनेरेसनको सिलिकन–कार्बन ब्याट्री प्रविधि प्रयोग गरिएको फोनले आठ वर्षसम्म उत्कृष्ट ब्याकअप दिने दाबी गरिएको छ । १,६५० पटक चार्ज गर्दा पनि यसको ब्याट्री क्षमता ८० प्रतिशतभन्दा कम नहुने कम्पनीको भनाइ छ । रियलमी पी फोर पावरको सबैभन्दा बलियो पक्ष यसको ब्याट्री टिकाउपन हो । फुल चार्ज भएपछि यो फोनमा लगातार १२ घण्टा BGMI (Battlegrounds Mobile India) गेम खेल्न वा ३२ घण्टाभन्दा बढी युट्युब भिडिओ हेर्न सकिन्छ । त्यसैगरी, २१ घण्टा नेभिगेसन र १२ घण्टासम्म फोरके भिडिओ रेकर्डिङ गर्न सकिने कम्पनीले जनाएको छ ।
ब्याट्री मात्र ५ प्रतिशत बाँकी रहँदा पनि प्रयोगकर्ताले करिब ४ घण्टा कुराकानी गर्न वा एक घण्टाभन्दा बढी समय नेभिगेसन प्रयोग गर्न सक्ने बताइएको छ । फोनमा ८० वाटको सुपरभोक फास्ट चार्जिङ सुविधा छ, जसले ३६ मिनेटमा ५० प्रतिशत ब्याट्री चार्ज गर्छ । साथै, यसमा २७ वाटको ‘रिभर्स चार्जिङ’ सुविधा समेत छ, जसबाट अन्य स्मार्टफोन समेत चार्ज गर्न सकिन्छ ।
यो फोन ९.०८ एमएम पातलो र २१९ ग्राम तौलको छ । यसलाई अत्यधिक चिसो र तातो दुवै वातावरणमा चल्ने गरी तयार पारिएको छ । यो फोन -३० डिग्री सेल्सियसदेखि ५६ डिग्री सेल्सियसको तापक्रममा पनि सहजै चल्न सक्ने कम्पनीको दाबी छ । पानी र धुलोबाट जोगाउन यसमा आईपी६६, आईपी६८ र आईपी६९ रेटिङ दिइएको छ, जसको अर्थ यो फोन २ मिटर गहिरो पानीमा पनि सुरक्षित रहन्छ ।
रियलमी पी फोर पावरमा ६.८ इन्चको १४४ हर्ज रिफ्रेस रेट भएको क्वाड-कर्भ्ड डिस्प्ले छ, जसको अधिकतम ब्राइटनेस ६,५०० निट्स रहेको छ । फोटोग्राफीका लागि यसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा (Sony IMX882 सेन्सर) र ८ मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामेरा दिइएको छ । सेल्फीका लागि अगाडि १६ मेगापिक्सेलको क्यामेरा छ ।
फोनमा डाइमेन्सिटी ७४०० अल्ट्रा चिपसेट प्रयोग गरिएको छ । सफ्टवेयरतर्फ यसमा एन्ड्रोइड १६ मा आधारित रियलमी यूआई ७.० रहेको छ । कम्पनीले यसमा तीन वर्षको ओएस अपडेट र थप एक वर्षको सेक्युरिटी प्याच दिने घोषणा गरेको छ ।
फ्ल्यास ओरेन्ज र पावर सिल्भर रङमा उपलब्ध यो फोनको पछाडिको भाग पारदर्शी डिजाइनमा छ, जहाँबाट एनएफसी कोइल समेत देख्न सकिन्छ । ब्याट्री प्रविधिमा क्रान्ति ल्याउने उद्देश्यका साथ रियलमीले यो ‘पावर हाउस’ स्मार्टफोन बजारमा उतारेको हो ।
भारतीय बजारमा तीन विभिन्न स्टोरेज भेरियन्ट र कलर अप्सनमा उपलब्ध गराइएको छ । यसअन्तर्गत ८ जीबी र्याम र १२८ जीबी स्टोरेज भएको सुरुवाती भेरियन्टको मूल्य २५,९९९ रु तोकिएको छ । त्यस्तै, ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको भेरियन्टलाई २७,९९९ पर्नेछ भने १२ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको हाई इन्ड भेरियन्टको मूल्य ३०,९९९ भारु कायम गरिएको छ । यी फोनहरू ट्रान्स-सिल्भर, ट्रान्स-अरेन्ज र ट्रान्स-ब्लु गरी तीन कलर अप्सन हुनेछन् ।
