भारत-नेपाल सिमानामा अवस्थित सिंगालिला राष्ट्रिय निकुञ्जमा दुईवटा शव फेला परेको बताइएको छ। छिमेकी राज्य पश्चिम बंगालको दार्जिलिङ जिल्ला र सिक्किम राज्यको पश्चिम प्रान्तमा अवस्थित सिङ्गालिला विश्वकै प्रसिद्ध नि:कुञ्ज हो। उक्त निकुञ्ज सन्दकफु चुचुरो नजिकै पर्दछ भने सिङ्गलिला टपमा उक्त दुईवटा शव फेला परेको सुत्रबाट रिपोर्ट प्राप्त भएको छ। सिमानाको पिलर नम्बर 49 छेउमा फेला परेको उक्त शव कसको हो भन्ने कुरा पहिचान भएको छैन।
अर्कोतिर उत्तरे र चिवाभञ्ज्याङ चेकपोस्टका सुरक्षाकर्मीहरु घटना स्थलतिर प्रस्थान गरेका छन्। 11 हजार 8 सय फिटको उचाइमा रहेको यस ठाउँ भौगोलिक दृष्टिकोणले पनि चुनौतीपूर्ण मानिन्छ। अर्कोतिर विकट बाटोको स्थिति र प्रायःजसो टेलिकम कम्पनीको नेटवर्क सुबिधा नरहेको हुँदा पनि बिस्तृत जानकारी आउन सकेको छैन। यद्यपि, दुईवटा शव देखा परेको भने पुष्टि भइसकेको छ।
–के.एन शर्मा
