सिक्किमका सम्पुर्ण चर्चहरूको संयुक्त तत्वावधानमा आज पाक्योङ जिल्ला अन्तर्गत रम्फु खेल मैदानमा राज्य स्तरीय प्री क्रिसमस समारोह विविध ख्रिष्टीय गीत संगीतका साथ पालन गरियो। यस अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थित थिए। वहाँको साथमा पुर्व विधायक एवं मुख्यमन्त्रीकी धर्मपत्नी कृष्णा कुमारी राई, सिक्किम विधानसभा अध्यक्ष एमएन शेर्पा, उपाध्याक्ष राजुकुमारी थापा, राज्य मन्त्रीमण्डलका सदस्यगण, विधायकगण, सल्लाहकार एवं अध्यक्षगण, अन्य अधिकारीवर्ग, बिशप अनि बरिष्ठ पास्टर, राज्यका सम्पुर्ण चर्चहरूबाट आएका पास्टरवर्ग लगायत भारी संख्यामा ख्रिष्ट भक्तहरूको उपस्थिति रहेको थियो।

रम्फु खेल मैदानमा आयोजित दोश्रो राज्य स्तरीय प्री-क्रिसमस समारोहलाई मुख्य अतिथिको रूपमा सम्बोधन गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले क्रिसमस पर्वको सबैलाई हार्दिक बधाई तथा शुभकामना दिए। आज अभिनन्दित सबै व्यक्तित्वप्रति बधाई दिँदै मुख्यमन्त्रीले यस बर्षको प्री क्रिसमस समारोहको थीम सिक्किम रिजोएस अर्थात सिक्किममा खुशीको लहर रहेको उल्लेख गर्दै हामी सबैलाई प्रभु येशुको आशीर्वचन रहेको मन्त्व्य व्यक्त गरे। आजका प्रमुख वक्ता डा- विकास मास्से र डा. दिलीप छेत्रीलाई हार्दिक स्वागत जनाउँदै क्रिसमसलाई बडा दशैं पनि भनिने साथै प्रभु येशुको जन्म दिन पनि हो भन्दै प्रभु येशु सबैको ह्रदयमा जिवित रहेको मन्त्व्य व्यक्त गरे। केक जिवित व्यक्तिहरूको जन्म दिवसको अवसरमा काट्ने गरेको र प्रभु येशु पनि जिवित रहेकोले वहाँको जन्मदिनको अवसरमा केक काट्ने गरिएको आफ्नो सम्बोधनमा मुख्यमन्त्रीले बताए। प्रभु येशुले देखाएको बाटोमा हिड्न सबैलाई प्रोत्साहित गर्दै मुख्यमन्त्रीले आजको यस महत्वपुर्ण दिनको अवसरमा महान व्यक्तिहरूले देखाएको बाटोमा हिड्ने कोशिस गर्नुपर्ने आवहान गरे। आज प्रत्येक जातीय र धार्मिक संगठनहरूले स्वतन्त्र रूपमा आफ्नो पर्वहरूलाई पालन गर्ने अवसर पाएको उल्लेख गर्दै मुख्यमन्त्रीले प्रत्येक बर्ष प्री क्रिसमस आयोजना गर्दै आएको र यो सरकारको तर्फबाट एउटा सम्मान दिएको उनले बताए। मानव सेवाले नै स्वर्ग प्राप्त गर्न सकिने मन्तव्य जाहेर गर्दै मुख्यमन्त्रीले सरकार सदैव साथमा रहेको बताए। एसकेएम पार्टीको सरकार सदैव सबै जात जाति र धर्म सम्प्रदायको संरक्षण र सम्बर्धनमा प्रतिवद्व रहेको मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा बताए।
आज शुरुवातमा पास्टर पेम्बा नुरी शेर्पाको स्वागत प्रार्थनाबाट शुरू भएको कार्यक्रममा समारोह आयोजक समितिका संरक्षक तथा मुख्यमन्त्रीका राजनैतिक सचिव जेकब खालिङले स्वागत सम्बोधन राखेका थिए। यसपछि कोयर समुहद्वारा क्रिसमस क्यारोल प्रस्तुत गरिएको थियो। कार्यक्रममा मुख्य अतिथि मुख्यमन्त्री प्रेमसिंह तामाङ एवं अतिथि वक्ता पास्टर सोना उप्रेतीको बाहुलीद्वारा क्रिसमस केक काटिएको थियो।
यसैगरी रम्फु युनाईटेड चर्चद्वारा मुख्यमन्त्रीलाई अभ्यर्थना जनाइयो। सोही प्रकारले पूर्व विधायक कृष्णा कुमारी राईलाई पनि सम्मान अभिनन्दन जनाइएको थियो। यसैगरी प्रमुख वक्ता आचार्य विकास मस्सी, पास्टर जोसेफ तामाङलाई आजीवन उपलब्धि सम्मानले सम्मान जनाइयो भने विशप स्टीफन लेप्चा र रेभरेण्ड डा. दिलीप छेत्रीलाई पनि अंगवस्त्र ओढाएर सम्मान जनाइयो। कार्यक्रममा परम पावन पोप फ्रान्सिस आशीर्वादको पत्र मुख्यमन्त्रीलाई दार्जिलिङ, सिक्किम अनि भुटानका बिशप स्टेफन लेप्चाको बाहुलीद्वारा हस्तान्तरण गरियो। कार्यक्रममा समारोह आयोजक समितिका प्रमुख संरक्षक एवं मन्त्री जीटी ढुंगेलले आफ्नो संक्षिप्त सम्बोधन राख्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पारे। विविध रंगारंग ख्रिष्ट्रिय गीत संगीतहरू यस अवसरमा प्रस्तुत गरिएको थियो भने सुमाचारीय अडियो भिडियो गीतको विमोचन पनि गरिएको थियो। यसैगरी कार्यक्रममा रेभरेण्ड जोन्हा बलद्वारा निर्देशित पुन मिलन नामक एक छोटो नाटकको पनि प्रदर्शन गरिएको थियो। कार्यक्रमको यस अवसरमा ख्यातिप्राप्त गायक कर्णदासले पनि आफ्नो सांगितिक प्रस्तुति पेश गरेर कार्यक्रमलाई अझ रोमाञ्चित तुल्याएका थिए भने कार्यक्रममा प्रमुख ववक्ता विकास मास्सेले आफ्नो प्रवचन राखेका थिए।
