मुख्यमन्त्री पी.एस. गोलायले ‘एन्जेल मोशन पिक्चर्स’ की निर्देशक एन्जेल छिरिङ, राजनीतिक सचिव श्री याकब खालिङ नेतृत्वको टोलीसँग भेटघाट गरेका छन्। उक्त टोलीले चाँडैै “द जजमेन्ट डे–२.०” नामक नाट्य प्रस्तुति सार्वजनिक गर्न लागेको छ।
भेटका दौरान मुख्यमन्त्री गोलायले यस पहललाई अत्यन्तै सराहनीय बताउँदै समाजमा आवश्यक चेतना भर्न तथा विद्यार्थी, युवायुवती, विद्यालय, कलेज र विश्वविद्यालयस्तरमा गहिरो सामाजिक उत्तरदायित्वबोध निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले नाटकले आत्महत्या रोकथाम, लागुऔषध दुरुपयोगविरुद्धको सचेतना र मानसिक स्वास्थ्यजस्ता संवेदनशील विषयमा प्रभावकारी सन्देश प्रवाह गर्ने उल्लेख गरे।
यस परियोजना सिम्फेडका माननीय अध्यक्ष श्री तेनजिङ दोर्जी भुटियाको प्रमुख संरक्षकत्वमा अघि बढिरहेको थाहा पाउँदा आफू खुशी लागेको मुख्यमन्त्रीले बताए। साथै, यस अर्थपूर्ण प्रस्तुतिमा संलग्न सम्पूर्ण कलाकार सिक्सिमकै हुनुले राज्यको कला, क्षमता र प्रतिभालाई अभिव्यक्त गर्ने माध्यम बनेको भन्दै गर्व व्यक्त गरे।
सामाजिक रूपान्तरणमा योगदान गर्ने यस्तो उद्देश्यपूर्ण कृतिको उच्च प्रशंसा गर्दै मुख्यमन्त्री गोलायले उक्त नाटकको सफलताको लागि शुभकामना व्यक्त गरे र यसले समाजमा दीर्घकालीन प्रभाव पार्ने विश्वास प्रकट गरे।

