रिनाकमा साहित्य कला संगमसँगै उदयचन्द्र वशिष्ठ स्मृतिग्रन्थ लोकार्पित

नेपाली साहित्य परिषद् सिक्किमले शुक्रवार पूर्व सिक्किमको रिनाकमा प्रथम साहित्य कला संगम कार्यक्रम आयोजन गरेर सिक्किमेली साहित्यका शिखर पुरुष एवम् वेदान्ताचार्य स्वर्गीय यूसी वशिष्ठलाई सम्झना गरेको छ।


राजधानीदेखि बाहिर जिल्लाहरूमा पनि आफ्नो साहित्यिक एवम् सांस्कृतिक गतिविधिहरूलाई बढाएर लैजाने उद्देश्यका साथ साहित्य परिषद्ले प्रथमपल्ट रिनाक सरकारी महाविद्यालयमा साहित्य कला संगम एवम् उदयचन्द्र वशिष्ठ स्मृतिग्रन्थ लोकार्पण समारोह आयोजन गरेको थियो। साहित्य परिषद्का अध्यक्ष हरि ढुङ्गेलको अध्यक्षतामा सम्पन्न समारोहमा असमका साहित्यकार दुर्गादत्त गौतम मुख्य अतिथि रहेका थिए। पाकिम जिल्लाका साहित्यकारहरू र रिनाक महाविद्यालयका विद्यार्थीहरूको समागममा संस्कृत भाषाका मर्मज्ञ एवम् वेदान्ताचार्य यूसी वशिष्ठको स्मृतिमा प्रकाशित ग्रन्थको लोकार्पण गरियो। वशिष्ठ परिवारको पहलमा उक्त ग्रन्थको प्रकाशन गरिएको थियो। नेपाली साहित्य परिषद्का पूर्व अध्यक्ष एवम् साहित्यकार रुद्र पौड्याल, स्वर्गीय यूसी वशिष्ठकी पत्नी शशिकला वशिष्ठ, छोरा डा. भरत वशिष्ठ, बुहारी डा. शोभा वशिष्ठ, छोरी सम्झना वशिष्ठ ढकाललगायत परिवारका सदस्यहरूको समारोहमा विशेष उपस्थिति थियो। साहित्यकार एवम् रिनाक महाविद्यालयका प्रमुख प्रशासक डिल्ली प्रसाद अधिकारीले यूसी वशिष्ठको जीवनी र उनको सामाजिक एवम् साहित्यिक योगदानमाथि प्रकाश पारेका थिए। डा. भरत वशिष्ठले संस्कृत विषयमा स्नातक र स्नातक-उत्तर गर्ने मेधावी विद्यार्थीका लागि यूसी वशिष्ठ स्मृति छात्रवृत्ति प्रदान गरिने घोषणा गरे। सभाध्यक्ष हरि ढुङ्गेलले साहित्यकार यूसी वशिष्ठलाई उनको जन्मस्थानमा सम्झना गर्दै राजधानीदेखि बाहिर जिल्लामा पनि साहित्यिक एवम् सांस्कृतिक कार्यक्रम आयोजन गर्ने उद्देश्यले नेपाली साहित्य परिषद्ले रिनाकबाट यस अभियानको थालनी गरिएको बताए। मुख्य अतिथि गौतमले यूसी वशिष्ठद्वारा गरिएका कामहरू शोधार्थीहरूका निम्ति उपयोगी बनेको उल्लेख गर्दै सिर्जना र अनुवाद दुवै क्षेत्रमा उनको योगदान उल्लेखनीय रहेको बताए। साहित्यकार उषा शर्माद्वारा सञ्चालित समारोहमा सिक्किम प्रतिभा प्रतिष्ठान, बियाड युवा साहित्य संस्थान, साहित्य कला समाज रिनाक, संस्कृति मन्थन, रिनाक, नेपाली साहित्य परिषद्को पक्षबाट साहित्यकार एवम् कलाकारहरूसँगै रिनाक महाविद्यालयका विद्यार्थीहरूले गायन, कविता एवम् नृत्य प्रस्तुत गरेका थिए। समारोहमा उदयचन्द्र वशिष्ठ स्मृति ग्रन्थका लेखकहरू गणेशकुमार प्रधान, डा. गीता निरौला, थमन नौबाग, थिरुप्रसाद नेपाल र प्रद्युम्न श्रेष्ठको पनि विशेष उपस्थिति थियो। साहित्य परिषद्का महासचिव निलम न्यौपानेले उपस्थित सबैलाई स्वागत जनाएका थिए। यस अवसरमा हालै दिवंगत बनेका वरिष्ठ साहित्यकार डा. एचोन रोङ्गोङप्रति पनि श्रद्धार्पण गरियो।

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *