आज सिक्किमका माटो कवि जीवन थिङको 69औं जन्म जयन्ती हो । जीवन थिङको जन्म 19 डिसेम्बर सन् 1955-को दिन पिता करसङ थिङ र माता डोलमी थिङको कोखमा दक्षिण सिक्किमको नाम्ची अस्पतालमा भएको थियो ।

कवि थिङले 23 वर्षको कलिलो उमेरमा संसार छाडेर गए । फोक्सामा हावा पसेको विमार (फोबोसिस) ले पीडीत थिए कवि थिङ । 5 जुलाई 1978-मा अपरेशन भयो । तर होशमा आउन सकेनन् । कलकत्ताको पीजी अस्पतालमा उनको मृत्यु भयो ।
कवि थिङले सन् 1973-मा ‘दियालो’ पत्रिकामा ‘काशी जलिरहोस्’ शीर्षक कविता प्रकाशित गरेका थिए । अहिले उनको नाममा दुईवटा कृति, माटो कवि जीवन थिङ व्यक्तित्व र कृतित्व अनि साङ्गोलभित्र बाधिएको घोडाका टापहरू उपलब्ध छ । उनी रत्न श्री स्वर्ण पदकले सम्मानित भएका थिए ।
कवि थिङ आफ्नो छोटो जीवनमा जति लेखे उम्दा लेखे । थिङ सिक्किम विलयको विरोधमा थिए । सिक्किमप्रतिको उनको माया र प्रेम उनका कवितामा पाइन्छ । उनका साहित्यिक रचनाहरूले सिक्किमको माटो, समाज, हावापानी, पहाड कन्दरा, इतिहास र संस्कृति सबै बोकेको छ । कवि थिङलाई अबको नयाँ पुस्ताले पुनः मूल्याङ्कन गर्न आवश्यक भएको छ ।
– प्रविण खालिङ
