सिक्किम – दार्जीलिङ विलय : नहुने कुरामा किन टाउको दुखाउनु??
यस विषयमा मलाई त्यति बेसी बोल्ने मन छैन कारण आजभन्दा लगभग दुई वर्ष अघि The Himal World को चर्चा चौतारी कार्यक्रममा ” सिक्किम दार्जीलिङ विलय पटक्कै नहुने कुरा हो अनि यो भविष्यमा पनि सम्भव छैन ” भनेर मैले किटान गरिसकेको छु। आज पनि मेरो अड़ानलाई सागरमाथा जस्तो अझ अटल र उच्च बनाएर भन्नु चाहन्छु कि- सिक्किम – दार्जीलिङको विलय न हिजो सम्भव थियो, न आज सम्भव छ, न भविष्यमा नै सम्भव हुनेछ। सिक्किमका नेताहरु अनि आम जनता यसको पक्षमा छैनन् अनि दार्जीलिङका नेताहरु र जनता स्वयं पनि यसको पक्षमा छैनन्। यो त व्यक्तिगत अस्तित्व र चिह्नारीको समस्यामा कुण्ठित बनेका अव्यवहारिक व्यक्ति (नेता पनि होइनन्) हरुको मन गढ़न्ते कुराहरू मात्र हुन्। समाचार पत्र अनि सोशल मिडियामा जसरी भए पनि बेला – बखत चर्चाको पात्र बन्ने यो उहाँहरुको दुस्साहस मात्र हो । यसले कसैलाई पनि लाभ दिंदैन न त प्रसङ्गले निष्कर्ष नै हासिल गर्छ।
उनीहरूले थग्ने गरेको प्रशंग – इतिहास अनुसार दार्जीलिङ सिक्किमको भूभाग हो , यसकारण दार्जीलिङ र सिक्किमको विलय हुनु पर्छ वा सिक्किमले दार्जीलिङको भुभागलाई माग्नु पर्छ – लाई म ढाडो खण्डन गर्नु चाहन्छु कारण इतिहास अनुसार नयाँ राज्य गठन वा विलयको कुनै कानूनी प्रावधान छैन न त यस्तो भई आएको तथ्य वा परम्परा नै छ । इतिहासको आधारमा राज्यको सीमाना कोर्नु हो भने इतिहासमा कुन भुभाग कसको अधीनमा वा कसको मानचित्रमा थियो त्यो खोज – तलास गरयो भने विश्वको राजनैतिक मानचित्र नै अर्कै बन्छ । यसर्थ, यस्तो अवैज्ञानिक फिजुलको कुरा गरेर जनताको सोझोपनसंग खेलवाड गर्नु राजनैतिक अधर्म हो।
हामी सिक्किमवासी अनि दार्जीलिङवासी युगौंदेखिको असल छिमेकी हौं । असल छिमेकी भन्नु सजिलो छ तर हुनु गाह्रो छ । यही गाह्रो कामलाई सिक्किम अनि दार्जीलिङका नेताहरु लगायत आम जनताले व्यवहारिकतामा सफल बनाएका छन् । सिक्किमले जहिले पनि दार्जीलिङ र दार्जीलिङका जनताप्रति सम्मान, इज्जत र स्नेह जनाउँदै आएको छ भने दार्जीलिङले पनि सिक्किम र सिक्किमे जनता पनि उस्तै सम्मान, इज्जत अनि स्नेह प्रकट गर्दै आएका छन्। एक समय शिक्षा, स्वास्थ्य , साहित्य, संगीत अनि अन्य सबै थोकमा सिक्किमलाई डोहोऱ्याउँदै आएको दार्जीलिङले जहिले पनि सिक्किम आत्मनिर्भर अनि विकसित हुँदै गएको देख्नु चाहेको छ भने सिक्किमले पनि दार्जीलिङवासीले देख्दै र माग्दै आएको दीर्घकालीन संवैधानिक माग यथाशीग्र पूरा होस् भन्ने चोखो कामना र प्रार्थना गर्दै आएको छ। सिक्किमको यो चाहना र प्रार्थना केवल मुखको मिठास मात्र होइन तर आन्तरिक मनको पवित्र चाहना रहेको 1986 देखि नै प्रकटीकरण हुँदै आएको छ। दार्जीलिङका जनताले आफ्नो मागको निम्ति कठिनभन्दा कठिन संघर्षपूर्ण समयहरुको सामना गर्नुपर्दा सिक्किम सदैव साथमा उभिएको छ अनि हुनसक्ने जति सहयोग सबै दिँदै आइरहेको छ। यो कुनै छिमेकीलाई लगाएको ऋण वा गुण होइन तर आफ्नै दाज्यु – भाईप्रति देखाएको जिम्मेवारी अनि कर्तव्य हो। भविष्यमा पनि सिक्किमे जनता यो जिम्मेवारी र कर्तव्यबाट विमुख पटक्कै हुनेछैन। सिक्किम र दार्जीलिङको यस्तो युगौं युगदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्ध, परस्पर समझदारी र सुमधुर साइनोलाई समेत वास्ता नगरी केही व्यक्तिहरूले घरी – घरी विलयको मुद्दा उठाएर त्रास अनि शंकाको स्थिति उत्पन्न गर्नु खोज्नु अति नै दुर्भाग्यपूर्ण कुरा हो। याे मुद्दा न सिक्किमको पक्षमा छ, न दार्जीलिङको पक्षमा छ, न देशको नै पक्षमा छ। तसर्थ, केवल चर्चाको विषय हुनु खोज्ने ” अति महत्वकांक्षी” व्यक्तिहरुको असन्तुलित मानसिकताको सठीक उपचार हुनु सकोस् भन्ने म कामना गर्दछु।
यस्तो हुँदै नहुने मुद्दामा टाउको दुखाउनु भन्दा जुन कुरा धेरै अघि थालिएको छ अनि हुने बाटोमा आम सहमतिका साथ कदम सारिएको छ , त्यसमा ध्यान दिएको उचित अनि बुद्धिमता काम हुनेछ।

जेकब खालिङ
सिक्किम
