सेल्फी डाँडाको पैह्रोमा चट्टान काटेर सडकको अवरोध हटाए पनि राष्ट्रिय राजमार्ग 10 केहिदिन नखोलिने कालेबुङ जिल्ला प्रशासनको निर्णय ।
हिमाली राज्य सिक्किम तथा कालेबुङ जिल्लाको जीवन रेखा मानिने राष्ट्रिय राजमार्ग 10 हाल बिभिन्न ठाउँहरुमा पैह्रो गएका कारण करिब १९ दिनदेखि अवरुद्ध छ । गत १ जुलाईबाट बाधित बनेको राष्ट्रिय राजमार्ग 10 का कारण सिक्किम लगायत कालेबुङका आम नागरिक एवम् चालक दाजुभाइहरु ३ घण्टाको सिलिगुडी सम्मको सडक मार्ग ६ घण्टा भन्दा अधिक समय लगाएर अल्गडा, लाभा, गोरु बथान हुँदै दैनिक रुपमा धाउन बाध्य छन् ।
यता सेल्फी डाँडामा चट्टानलाई कटान गरि सडक मार्ग खोलिएता पनि अझै केहिदिन राष्ट्रिय राजमार्ग 10 बन्द रहने कालेबुङ जिल्ला प्रशासन कार्यालयले जानकारी गराएको छ ।
राष्ट्रिय राजमार्ग 10 बन्द रहँदा हाल सिक्किममा अति आवश्यक सामाग्री लगायत तरकारी एवम् सब्जीको मुल्यले आकाश छुएको स्थानीय नागरिकहरु बताउँछन् भने सिकिस्त विरामीहरुलाई पनि ६/७ घण्टाको सडक मार्गबाट घुमाएर लानु पर्दाको पिडा र गुनासो उति नैं छ चालकहरुको ।
राष्ट्रिय राजमार्ग भीत्रका बिभिन्न स्थानमा पैह्रोले कतै सडक पुरिएको थियो भने कतै टिस्टा नदीको बहावले सडक नै चुँडिएको अवस्था थियो । विभिन्न खण्डको बाधित सडकमा पैह्रो सोर्ने, पन्छाउने काम त समाप्त भयो तर अझै राष्ट्रिय राजमार्ग 10 का कतिपय ठाउँहरूमा भीरबाट ढुङ्गा झर्न नरोकिएकाले कालेबुङ जिल्ला प्रशासन द्वारा आधिकारिक रुपमा सुचना जारी नगरेसम्म यो सडकमा सवारीसाधन चल्न अझ केहिदिन पर्खन जील्ला प्रशासन कालेबुङले जानकारी गराएको छ ।
स्मरण रहोस् गत महिना अत्याधिक वर्षाका कारण राष्ट्रिय राजमार्ग 10 का विभिन्न स्थानहरूमा पैह्रो गएको थियो ।
