नेपाली साहित्य परिषद्-सिक्किमको वार्षिक सभा मार्च १६ मा सरमसा उद्यानमा हुने।
नेपाली साहित्य परिषद् (नेसाप)-सिक्किमको वार्षिक आमसभा आगामी 16 मार्च 2025-को दिन पाकिम जिल्लाअन्तर्गत सरमसा उद्यानमा सम्पन्न हुने भएको छ।
बुधवार गान्तोकको जीवन थिङ मार्गस्थित नेपाली साहित्य परिषद् भवनमा अध्यक्ष हरि ढुङ्गेलको अध्यक्षतामा बसेको परिषद्को कार्यकारी समितिको बैठकमा आमसभामा राखिने विषयलगायत अन्य भावी कार्यक्रमहरूमाथि चर्चा-परिचर्चा गरियो।
16 मार्चमा हुने आमसभामा परिषद्ले संस्थाको वार्षिक प्रतिवेदनको रूपमा दुई वर्षको कार्यावधिमा भएका गतिविधि एवम् उपलब्धिहरूबारे विस्तृतरूपमा प्रकाश पार्नेछ। यसैगरी सभामा आय-व्ययको विवरणको प्रस्तुतिसँगै संविधानका केही बुँदाहरूमा संशोधनको प्रस्ताव राखिनेछ।
परिषद्को आज बसेको कार्यकारी समितिको बैठकले सिक्किम राज्य स्थापनाको पचासौँ वर्षको अवसर पारेर सिक्किमेली साहित्यको पचास वर्षको यात्रालाई प्रतिबिम्बित गर्दै एउटा सोधमूलक ग्रन्थको स्वरूपमा ‘कनका’ प्रकाशित गर्ने निर्णय लिएको छ।
