69 बाहिनी सशस्त्र सिमा बल (SSB) ले बिरिङ तारेथाङ सडक खण्डको दनक खोलामा निर्माण गर्यो फड्के (Bamboo bridge)
सशस्त्र सिमा बल (SSB) को ६९ बाहिनीले बिरिङ तारेथाङ सडक खण्ड अन्तर्गत पर्ने दनक खोलामा अस्थायी प्रकृतिको पुल निर्माण गरेको छ। यो पुल फड्के पुल हो, जुन बाँस लगायतका स्थानीय कच्चा पदार्थहरुको प्रयोग गरेर बनाइएको छ।विशेष गरी वर्षाको समयमा यो सडक खण्डमा यात्रा गर्ने यात्रुहरुको सहजताका लागि यो कदम चालिएको हो।
वर्षायाममा दनक खोलामा पानीको सतह बढ्ने हुँदा सडक भएर हिँड्ने पैदल यात्रीहरुलाई निकै अप्ठ्यारो हुने गरेको थियो। विद्यार्थीहरु विद्यालय आउजाउ गर्न र अन्य सर्वसाधारणलाई पनि आवतजावतमा समस्या हुने गरेको थियो। यस्तो समस्यालाई मध्यनजर गर्दै तत्कालको लागि सहज यात्रा सुनिश्चित गर्न ६९ बाहिनी सशस्त्र सिमा बलले बाँसको कच्ची पुल बनाएको हो।
बिरिङ केराबारी चालक संगठनका अध्यक्ष बिनोद सुब्बाका अनुसार वर्षायामलाई विशेष ध्यानमा राखेर यो फड्के पुलको निर्माण गरिएको हो। यसले गर्दा वर्षायाममा दैनिक कामकाजका लागि हिँडडुल गर्ने स्थानीय बासिन्दाहरुलाई धेरै सहज हुने विश्वास गरिएको छ। यस अस्थायी पुलले पानीको बहाव बढेको समयमा पनि जोखिम कम गर्ने अपेक्षा गरिएको छ।

