रानीपुल-पाक्योङ सडकमा निर्माण कार्यका कारण यातायात आवागमनमा प्रतिबन्ध

पाक्योङ, २ नोभेम्बर: रानीपुल–पाक्योङ राष्ट्रिय राजमार्ग ७१७ए अन्तर्गत लोअर आहोको म्याक्लियोडनजिक गिट्टी डाँडामा पहाड काट्ने कार्य भइरहेकाले आगामी ५ देखि ७ नोभेम्बर र १२ देखि १६ नोभेम्बरसम्म यातायात आवागमनमा समय निर्धारण गरी प्रतिबन्ध लगाइने भएको छ।

पाक्योङ जिल्ला पुलिस कार्यालयले सिक्किम पुलिस अधिनियम, २००८ को धारा १५९(२) अन्तर्गत जारी गरेको आदेश निम्नानुसार रहेको छ।

बिहान ८:३० देखि ११ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म सडक खुला रहनेछ।

बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म तथा साँझ ६ बजेदेखि राति १० बजेसम्म सडक पूर्ण रूपमा बन्द रहनेछ।

राति १० बजेदेखि भोलिपल्ट बिहान ८:३० बजेसम्म सडक खुला रहनेछ।

सडक बन्द रहने समयमा भारी वाहनका लागि आसाम लिङ्जे फाटक (सेती पुलनजिक) हुँदै आसाम लिङ्जे–शान्ति टर्निङ भएर पाक्योङ बजार पुग्ने वैकल्पिक मार्ग तोकिएको छ। हलुका तथा मध्यम वाहनका लागि आहो फाटक हुँदै माथिल्लो आहो भएर अधेरी फाटक अथवा चाङ्गे–शान्ति टर्निङको मार्ग प्रयोग गर्न सकिनेछ।

एम्बुलेन्स, दमकल, पुलिस तथा अन्य आकस्मिक सेवामा खटिएका वाहनलाई भने प्रतिबन्धबाट छुट दिइएको छ।

निर्माण कार्यका क्रममा दुवै छेउमा सुरक्षा पोसाकसहितका कर्मचारी परिचालन गर्न, सडक बन्द तथा खुला हुने समय उल्लेख गरिएका सूचना पाटी राख्न र आवश्यक सुरक्षा एवं प्रकाशको व्यवस्था मिलाउन निर्माण कम्पनीलाई निर्देशन दिइएको छ।

जिल्ला पुलिसले यात्रु तथा वाहन चालकहरूलाई निर्धारित समय र वैकल्पिक मार्गको पालना गर्न आग्रह गरेको छ।

#roadclosed

By Admin_Pratibeemba

Leave a Reply

Your email address will not be published. Required fields are marked *