पाकिम, अगस्ट २० (आईपीआर): सिक्किम प्रतिभा प्रतिष्ठान, पाकिमको आयोजनामा ३५औँ नेपाली भाषा मान्यता दिवस पाकिमस्थित सामुदायिक भवनमा विभिन्न कार्यक्रमसहित सम्पन्न भयो।

यस कार्यक्रममा सिक्किम सरकारका शिक्षा, खेलकुद, युवा मामिला, कानुन तथा संसदीय मामिला विभागका माननीय मन्त्री श्री राजु बस्नेत प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
यसरीनै कार्यक्रममा जिल्ला उपाध्यक्ष, श्रीमती प्रभा प्रधान; पाक्योङ नगर पञ्चायतका अध्यक्ष, श्री इन्चुङ भोटिया; वाणिज्य तथा उद्योग विभागकी अध्यक्ष, श्रीमती निम छिकी शेर्पा; मुख्यमन्त्रीका एपीएस, श्री विशाल शर्मा; सडक तथा पुल विभागका एसई, श्री टी. एन. अधिकारी; पाक्योङ (मुख्यालय) का एसडीएम, श्री थेन्डुप लेप्चाको पनि उपस्थिति रहेको थियो।
मुख्य अतिथिले आफ्नो सम्बोधनका क्रममा नेपाली भाषालाई भारतको संविधानको आठौँ अनुसूचीमा समावेश गराउने भाषा सङ्ग्रामी तथा सिक्किमका पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारी र पूर्व सांसद दिलकुमारी भण्डारीले पुर्याएको योगदानको स्मरण गर्नुहुँदै उहाँहरूको अथक प्रयासकै परिणामस्वरूप नेपाली भाषाले संवैधानिक मान्यता प्राप्त गरेको बताउनु भयो।
नेपाली भाषाले संवैधानिक मान्यता प्राप्त गर्नुअघि नै सिक्किममा नेपाली भाषाको पठनपाठन हुँदै आएको उल्लेख गर्दै मन्त्री बस्नेतले सिक्किम बहुभाषिक राज्य भएकाले यहाँ बोलिने सबै भाषाको संरक्षण र संवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो। राज्य सरकारले सबै सरकारी अधिसूचना नेपाली भाषामा समेत जारी गर्ने निर्णय गरेर भाषा संरक्षणका क्षेत्रमा महत्वपूर्ण पहल गरेको पनि उहाँले बताउनु भयो।
यसैगरी, राज्यका सबै सरकारी कार्यालयमा प्रत्येक बिहीबार जातीय पोसाक अनिवार्य गर्ने व्यवस्था गरिएको उल्लेख गर्दै यसप्रकारको व्यवस्थाले सांस्कृतिक आदानप्रदान र संरक्षणमा सहयोग पुर्याउने बताउनु भयो। भाषा संरक्षणका लागि सबै नागरिक सचेत हुनुपर्ने कुरामामा जोड दिँदै सिक्किम प्रतिभा प्रतिष्ठानले भाषिक संरक्षणमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्नु भयो। भाषालाई जटिलताबाट सरलतातर्फ लैजानुपर्ने र व्यवहारमा प्रयोग हुँदै आएको भाषालाई नै प्राथमिकता दिँदै अघि बढ्नुपर्ने उहाँले बताउनु भयो।
कार्यक्रममा लेखक तथा साहित्यकार कमल काफ्लेले नेपाली भाषामाथि विश्लेषणात्मक वक्तव्य प्रस्तुत गर्दै नेपाली भाषा आन्दोलनको ऐतिहासिक पक्षबारे प्रकाश पार्नुभयो। उहाँले नेपाली भाषा प्रयोगमा रहेसम्म मात्र यसको अस्तित्व कायम रहने भएकाले यसको संरक्षण गर्नु सबैको दायित्व भएको बताउनु भयो।
कार्यक्रममा मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव श्री विशाल शर्माले मुख्यमन्त्रीको निर्देशनअनुसार सन् २०२७ मा पाकिम जिल्लामा आयोजना हुने २१३औँ भानु जयन्ती समारोहबारे जानकारी गराउनु भयो। उनले कार्यक्रमलाई ऐतिहासिक तथा सफल बनाउन चाँडै समन्वय सभा आयोजना गरिने र यसको निम्ति सबै पक्षको सहयोग आवश्यक रहेको बताउनु भयो।
यसै अवसरमा सरकारी महाविद्यालय रिनाककी प्राध्यापक डा. बिमला भट्टराईद्वारा लिखित अंग्रेजी भाषाको पुस्तक “ट्रेडीसनल, ट्राइबल मेडिसिन सिस्टम अफ नर्थइस्ट इन्डिया एन्ड द इस्टन हिमालयस” को लोकार्पण गरिएको थियो। उक्त पुस्तकबारे श्री सी.एम. शर्माले मन्तव्य प्रस्तुत गर्नु भएको थियो।
यसरी नै साहित्यकार राजेन शिवाकोटीले पर्यावरणसम्बन्धी लेखमाथि आफ्नो विचार प्रस्तुत गर्नु भएको थियो।
कार्यक्रममा पाकिम जिल्लाकी जिल्ला उपाध्यक्ष श्रीमती प्रभा प्रधान, वरिष्ठ कवि युवा बराल, शिक्षा विभाग पाकिमका संयुक्त निर्देशक श्रीमती गीता शर्मा, कवि एन.पी. गौतम, कवि ज्ञानेन्द्र अधिकारी अनि विद्यार्थी सृष्टि प्रधानले कविता प्रस्तुत गर्नु भएको थियो।
कार्यक्रमका क्रममा विभिन्न क्षेत्रमा सक्रिय रही उत्कृष्ट योगदान पुर्याउनुहुने १२ जना व्यक्तित्वलाई अभिनन्दन गरिएको थियो। अभिनन्दित हुने व्यक्तित्वहरूमा-
१) श्री. पी.के. सुब्बा,
२) श्री.पी.एल. बस्नेत,
३) श्री. हरिराम रिजाल,
४) डा. टी.पी. सिंह पौड्याल,
५) श्री. वीरबहादुर गुरुङ,
६) डा. सौरभ काफ्ले,
७) डा. केशवकुमार लुइँटेल,
८) डा. जीवन गुरुङ,
९) डा. प्रणय खतिवडा,
१०) डा. बिमला भट्टराई,
११) सुश्री अर्पणा गुरुङ र
१२) सुश्री अभिस्ता बस्नेत रहनुभएको थियो।
अभिनन्दित व्यक्तित्वहरूको तर्फबाट मन्तव्य राख्नुहुँदै सिक्किम प्रतिभा प्रतिष्ठानका प्रमुख सल्लाहकार श्री पी.के. सुब्बाले प्रतिष्ठानप्रति कृतज्ञता व्यक्त गर्दै सबै अभिनन्दित व्यक्तित्वलाई बधाई दिनुभयो। उहाँले नेपाली भाषा मान्यता प्राप्त भएयता प्रतिष्ठानले गरेका विभिन्न कार्यक्रमबारे जानकारी गराउँदै आगामी दिनमा भावी पुस्तालाई समेटेर थप कार्यक्रम आयोजना गर्ने बताउनु भयो।
कार्यक्रममा पीएमश्री सरकारी वरिष्ठ माध्यमिक विद्यालय डिक्लिङ, सरकारी वरिष्ठ माध्यमिक विद्यालय पाचे, सेन्ट जेभियर्स पाठशाला पाकिम, सरकारी प्राथमिक पाठशाला कार्थोक तथा साई गुरुकुल अकादमी पाकिमका विद्यार्थीहरूले परम्परागत लोकनृत्य प्रस्तुत गरेका थिए।
आजको कार्यक्रममा मुख्यमन्त्रीका सीए, श्री उर्गेन लेप्चा; नाम्चेबुङ निर्वाचन क्षेत्र विधायकका ओएसडी, श्री हरि रिजाल; जलस्रोत विभागका ओएसडी, श्री गगन गुरुङ; सीप विकास विभागका ओएसडी, श्री बिमल न्यौपाने; नाथाङ–माछोङ निर्वाचन क्षेत्र विधायकका ओएसडी, श्री एम. बी. गुरुङलगायत पाक्योङ नगर पञ्चायतका पार्षदहरू, सिक्किम प्रतिभा प्रतिष्ठानका सदस्यहरू, विभिन्न विभागका कार्यालय प्रमुखहरू, विद्यार्थीहरू तथा भाषा र साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो।
