खेत खलियानमा रमाइलो रोपाइँ

नेपाली विभाग, नरबहादुर भण्डारी सरकारी महाविद्यालय, तादोङ‌ले रमाइलो रोपाइँको दोस्रो प्रकरण साङ अन्तर्गत तिर्कुताममा सम्पन्न गर्‍यो। विद्यार्थीहरूलाई पुस्तकीय ज्ञानका अतिरिक्त खेत खलियानको अनुभव गराउनका साथै कृषि-कर्मको महत्त्व र मूल्य-मान्यता बोध गराउने उद्देश्यका साथ यस वर्ष नेपाली सम्मान चौथो सत्रका जम्मा ६० जना विद्यार्थीहरू यस अवसरमा उपस्थित थिए।

गत वर्षदेखि थालिएको यो प्रकल्पलाई निरन्तरता दिँदै यस पटकको प्रकरणमा विद्यार्थीहरूले सक्रियताका साथ सहभागिता जनाए। खेतमा धान रोप्ने, हिल्याउने बियाडबाट बिउ उखेल्ने, दाँदै लगाउने, आली अँचिला लगाउने जस्ता सामान्य लाग्ने तर श्रमसाध्य कार्यको महत्त्वबारे विद्यार्थीले क्षेत्रगत भ्रमणबाट नै ज्ञान आर्जन गर्न पाउने ध्येय लिएर यो रमाइ‌लो रोपाइँ आयोजन गरिन्छ।

कृषि कर्म सम्बन्धी कतिपय शब्दहरू आजको कृत्रिम बौद्धिकता र प्राविधिक विद्याको चपेटमा लोप भएर जाने सम्भावना बढिरहेको बेला भाषिक, सांस्कृतिक र पारम्परिक मूल्य मान्यताको संरक्षण सम्वर्द्धनमा यस्ता क्रिया- कलाप सहायक सिद्ध हुने सोचिएको छ। स्नातकस्तरको पाठ्‌यक्रममा लोकवार्ता पनि रहेको छ। यसको आंशिक परिपूर्तिमा पनि रमाइलो रोपाई सहयोगी बन्दछ।

तीसजना रोपार, दसजना बाउसे, पाँचजना बियाडे, दसजना सहायकको झुण्ड बनाएर विद्यार्थीले सामूहिक कार्यको प्रदर्शन गर्नका साथै आफ्नो टोलीलाई नेतृत्व दिने नेतृत्व क्षमताको विकास पनि यसद्वारा गर्न सकेको देखियो।

पारम्परिक खानपिन दही, चिउरा, केरा, चाम्रे, चटनी बनाउन, तयार गर्न छुट्टै पाँचजनाको विद्यार्थी टोली थिए। यस क्रममा विद्यार्थीले कृषि सामग्रीका नामहरू जान्नका साथै तिनको प्रयोगबारे पनि ज्ञान र सिप सिक्ने अवसर पाए।

यस प्रकल्पलाई सफल पार्न महाविद्यालयका प्राचार्य डा डी पुरोहित, विभागाध्यक्ष डा उदय छेत्री, वरिष्ठ प्राध्यापक डा गीता निरौला, विभागका सहायक प्राध्यापक श्री सी पी राई अनि डा शारदा छत्रीको उत्प्रेरक भूमिका रहेको छ। यसका अतिरिक्त कलेजकी प्रशासनिक अधिकृत श्रीमती डोमाल्हमू जिम्मा र बस चालकहरूको भूमिका पनि उल्लेखनीय छ।

रमाइलो रोपाइँबारे आफ्नो अनुभव साझा गर्ने क्रममा पुजा छेत्रीले साथी-सङ्‌‌गीसँग यसरी रोपाइँ गर्नुको रमाइलोपन बेग्लै रहेको र यो आजीवन स्मरणीय रहने बताइन्। एभिल सुनारले आफ्नो यो पहिलो अनुभव रहेको र एकदमै रमाइलो साथै ज्ञानबर्द्धक अनि अविस्मरणीय रहेको बताए। स्टेला सुब्बाले आफ्नो अनुभव साझा गर्ने क्रममा पुस्तकीय अध्ययनका अतिरिक्त क्षेत्रगत अध्ययनले ज्ञानको क्षितिजमा ठुलो फड्‌को मारेको र वास्तविक ज्ञान आर्जन अनि सामूहिक कार्यको महत्त्व बुझेको बताइन्।

विभागका सहायक प्राध्यापक टेकबहादुर छेत्रीको अगुवाइ‌मा गएको टोलीले आगामी दिनमा यसको आधा भाग दाइँमा उपस्थित भएर सम्पन्न गर्ने बताएको छ।

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *