सरोज गुरुङ्ग, सोरेङ
महिला एवं शिशु विकास विभाग सोरेङ जिल्लाको तत्वावधानमा आज टिम्बुरबुङस्थित सामुदायिक भवनमा विश्व शौचालय दिवस पालन गरियो। कार्यक्रममा ग्रामीण विकास विभागका अतिरिक्त जिल्लापाल गायस पेगा, जिल्ला योजना अधिकारी कुमार सुब्बा, सीडीपीओ गौरी तामाङ, स्वास्थ विभागकी संयुक्त निर्देशक डा. मेनुका तामाङ, पञ्चायत उप सभापति कुमार प्रधान, गैरसरकारी संघ-संस्थाका प्रतिनिधिगण, आगनवाडी र आशा कर्मचारीगण, विभागीय कर्मचारीहरु र मसिना नानीहरूको उपस्थिति थियो।
स्मरण रहोस्, ग्रामीण विकास विभागका मन्त्री अरुण उप्रेतीले गत १९ नोभेम्बरको दिन गान्तोकस्थित ग्रामीण विकास विभागको सम्मेलन कक्षमा ‘विश्व शौचालय दिवस’ अभियानको शुभारम्भ गरेका थिए। यो अभियानको समापन 9 डिसेम्बरमा हुनेछन्। जसको उद्देश्य आमजनतामा सरसफाइको महत्वप्रति जनचेतना जगाउनु हो। विश्व शौचालय दिवस हरेक वर्ष नोभेम्बर 19-को दिन विश्वव्यापी रूपमा मनाइन्छ, जसले 2030 सम्म सबैका लागि सरसफाइको प्रतिज्ञा गराउँदा छ। संयुक्त राष्ट्र महासभाले 24 जुलाई 2023 को प्रस्ताव A/RES/67/291 मार्फत यो दिवस मनाउने निर्णय गरेको थियो। यस दिवसले सरसफाइ र पिउने पानीलाई मानव अधिकारको रूपमा मान्यता दिई जनताको स्वास्थ्यका लागि यी सेवाहरूको भूमिकालाई हाइलाइट गरेको छ। यहाँ सम्पन्न ‘शौचालय शान्तिको ठाउँ’ विषयवस्तु माथि राखिएको कार्यक्रममा शौचालयको प्रयोग सँगसँगै हात पखाल्ने तरिकामाथि जानकारी गराइयो।
आज कार्यक्रममा विश्व अपाङ्गता दिवसबारे उपस्थित आमजनतालाई जानकारी गराइएको थियो। वर्ष 1992 देखि प्रतिवर्ष 3 डिसेम्बरको दिन संसारभरि विश्व अपाङ्गता दिवस मनाइन्छ। उक्त दिनमा विभिन्न कार्यक्रम तथा गोष्ठी अनि र्यालीहरू आयोजना गरी समानता र हौसलाको नारा गुञ्जायमान गरिन्छ अनि उनीहरूको मानव अधिकार, अवसर र सुविधामाथि जागरुकता गराइन्छ। अपाङ्ग मानिसहरुलाई पनि समाजको मूलधारमा समावेश गरी उनीहरूलाई गाउँ-समाजको मुख्य अङ्ग बनाई विश्वको प्रगति र विकासमा समावेश गराउन अभिप्रेरित सरकारले यस्ता कार्यक्रममार्फत गर्दैआएका छन्। कार्यक्रममा महिला एवं शिशु विकास विभागकी सीडीपीओ गौरी तामाङले विश्व शौचालय दिवस र विश्व अपाङ्गता दिवस पालन गर्न पछाडिको उदेश्य र औचित्यमाथि प्रकाश पारिन्। कार्यक्रममा आशा कर्मचारीहरुलाई सरसफाइमा प्रयोग गरिने सामाग्रीहरु अपाङ्ग मानिसहरुलाई प्रेरणा स्वरूप सामाग्रीहरु पनि विभागले प्रदान गरे।






