नोकियाको मालिक कम्पनी एचएमडीले ल्यायो हाइब्रिड फोन, करिब ४ हजार मूल्यमै यी स्मार्ट फिचर

नोकिया ब्रान्डको मालिक कम्पनी एचएमडीले नयाँ फोन ‘एचएमडी टच फोरजी’ सार्वजनिक गरेको छ । कम्पनीले यसलाई हाइब्रिड फोनका रूपमा प्रस्तुत गरेको छ । यसको अर्थ यो पूर्ण स्मार्टफोन त होइन, तर सामान्य फिचर फोनभन्दा बढी सुविधा छ ।

बजेट सेग्मेन्टमा आउने फोनले नोकियाको चर्चित आशा (Asha) सिरिजको झल्को दिन्छ । उक्त सिरिजजस्तै यस फोनमा पनि क्लाउड-होस्टेड ब्राउजर एपमार्फत केही स्मार्ट फिचरहरू उपलब्ध गराइएका छन् ।

फोनमा फोरजी कनेक्टिभिटी सुविधा छ । कम्पनीका अनुसार यो फोन ती प्रयोगकर्ताका लागि उपयुक्त छ, जो सस्तो मूल्यमा इन्टरनेट प्रयोग गर्न चाहन्छन् ।

हार्डवेयरका हिसाबले यो फोनमा ३.२ इन्चको टीएफटी एलसीडी डिस्प्ले (२४०x३२० पिक्सेल रेजोलुसन) दिइएको छ । त्यस्तै यसमा युनिसोक टी१२७ चिपसेट प्रयोग गरिएको छ भने ६४ एमबी र्‍याम र १२८ एमबी स्टोरेज छ । माइक्रोएसडी कार्डमार्फत ३२ जीबीसम्म मेमोरी विस्तार गर्न सकिन्छ ।

साइजमा सानो देखिए पनि यो फोनको मोटाइ १०.८५ एमएम रहेको छ भने तौल १०० ग्राम छ । डिजाइनका हिसाबले यो फोन पुराना स्मार्टफोनहरूको झल्को दिने खालको छ । अर्कोतिर पछिल्लो भागमा रहेको गोलाकार क्यामेरा रिङले यसलाई आधुनिक रूप प्रदान गरेको छ । ​सायन र डार्क ब्लु कलरमा उपलब्ध हुने फोनले आईपी५२ सर्टिफिकेट पनि पाएको छ । 

यो फोनमा ‘रियल-टाइम अपरेटिङ सिस्टम’ (RTOS Touch) चल्नेछ । फोनमा कम्पनीकै ‘एक्सप्रेस च्याट’ नामक मेसेजिङ एप प्रि-इन्स्टल गरिएको छ । जसले ह्वाट्सएपझैँ ग्रुप च्याट र भिडिओ कलिङ सपोर्ट गर्छ । साथै, क्लाउडमा आधारित अन्य एपहरूमार्फत प्रयोगकर्ताले क्रिकेट अपडेट, मौसमको पूर्वानुमान र ट्रेन्डिङ भिडिओहरू हेर्न सक्छन् ।

यसमा १,९५० एमएएच क्षमताको ब्याट्री प्रयोग गरिएको छ । जसले ३० घण्टासम्म चार्ज टिक्ने कम्पनीको दाबी छ । फोनमा युएसबी-सी पोर्ट, ३.५ एमएम हेडफोन ज्याक, वाई-फाई र ब्लुटुथ ५.० जस्ता सुविधा पनि छन् ।

क्यामेराको कुरा गर्दा अगाडिको भागमा ०.३ मेगापिक्सेलको सेल्फी क्यामेरा र पछाडि एलईडी फ्ल्याससहित २ मेगापिक्सेलको मुख्य सेन्सर राखिएको छ । 

भारतीय बजारमा यो फोनको मूल्य तीन हजार ९९९  तोकिएको छ । नेपाली बजारमा सात हजार रुपैयाँको आसपासमा मूल्य निर्धारण हुने अनुमान छ ।

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *