मेटाले ह्वाट्सएप र मेसेन्जर प्रयोगकर्ताहरूलाई सम्भावित ठगीहरूबाट बचाउन र अकाउन्टहरू सुरक्षित राख्न सघाउने उद्देश्यले नयाँ टुल घोषणा गरेको छ । कम्पनीले हालै मेसेन्जरमा सन्दिग्ध च्याटहरूको लागि थप एड्भान्स स्क्याम-डिटेक्सन (ठगी पहिचान गर्नसक्ने टुल) परीक्षण गर्न सुरु गरेको हो ।
यो नयाँ प्रणालीले प्रयोगकर्ताहरूलाई नयाँ कन्ट्याक्टले सम्भावित स्क्याम मेसेज पठाउँदा चेतावनी दिनेछ । यसमा प्रयोगकर्ताहरूसँग स्क्यामका सङ्केतहरू जाँच गर्न एआई स्क्याम रिभ्युमा पछिल्ला मेसेजहरू पठाउने विकल्प पनि हुन्छ ।

यदि कुनै सम्भावित स्क्याम पत्ता लाग्यो भने प्रयोगकर्ताहरूलाई सतर्क गराइनेछ र पठाउने व्यक्तिलाई ब्लक गर्ने वा रिपोर्ट गर्ने जस्ता विकल्पहरू सुझाइनेछ । मेटाले बताएअनुसार यस्तो अवस्थामा प्रयोगकर्ताहरूलाई सामान्य स्क्यामको बारेमा थप जानकारी दिइनेछ ।
यो सुविधा पूर्वनिर्धारित रूपमा इनेबल (enabled by default) हुनेछ । तर यसलाई Privacy & safety settings मा Scam detection विकल्प बन्द गरेर डिसेबल (निस्क्रिय) गर्न पनि सकिनेछ ।
मेटाले ह्वाट्सएपमा पनि नयाँ वार्निङहरू दिइरहेको छ । यस्तो चेतावनीले प्रयोगकर्ताहरूलाई अपरिचित कन्ट्याक्टसँग भिडिओ कल सुरु गर्दा विश्वास गर्ने मानिसहरूसँग मात्र आफ्नो स्क्रिन शेयर गर्न सचेत गराउनेछ ।
स्क्यामरहरूले निशानामा पारिएका व्यक्तिहरूलाई बैँक विवरण वा अथेन्टिकेटर कोडहरू जस्ता संवेदनशील जानकारीहरू हात पार्नका लागि स्क्रिन शेयर गर्न दबाब दिन सक्छन् । मेटाको यो नयाँ उपकरणले प्रयोगकर्ताहरूलाई स्क्याम पत्ता लगाउन र जोगिनका लागि थप आधार दिने विश्वास गरिएको छ ।
यसबाहेक ह्वाट्सएपले ग्रुप च्याटहरूमा सुरक्षालाई ध्यान दिँदै हालै एक नयाँ सुविधा पनि थपेको छ । जुन अपरिचित कन्ट्याक्टले ग्रुपमा थप्दा सम्भावित स्क्याम पत्ता लगाउन मद्दत गर्ने गरी डिजाइन गरिएको छ ।
यो सुविधाले ग्रुपको तयार भएको मिति, मेम्बरहरूको सङ्ख्या, सम्भावित स्क्याम प्रयास र कसले तपाईँलाई ह्वाट्सएप ग्रुपमा थप्न सक्छ भन्ने नियन्त्रण गर्ने विस्तृत निर्देशनको साथ सेफ्टी ओभरभ्यु कन्केक्स्ट कार्ड देखाउँछ ।
ह्वाट्सएपले कन्ट्याक्ट लिस्ट बाहिरको व्यक्तिले सम्पर्क गर्दा पनि प्रयोगकर्तालाई सूचित गर्दछ, जसले मेसेज पठाउने व्यक्तिको बारेमा थप सन्दर्भ जानकारी प्रदान गर्दछ ।
