एनएचआईडीसीएलको सीएसआर पहलअन्तर्गत पाक्योङ पीएचसीलाई नयाँ एम्बुलेन्स

Pakyong PHC Gets New Ambulance under NHIDCL CSR Initiative

पाक्योङ जिल्लाको प्राथमिक स्वास्थ्य केन्द्र (PHC) ले राष्ट्रिय राजमार्ग तथा पूर्वाधार विकास निगम लिमिटेड (NHIDCL) को कर्पोरेट सामाजिक उत्तरदायित्व (CSR) पहलअन्तर्गत नयाँ बेसिक लाइफ सपोर्ट (BLS) एम्बुलेन्स प्राप्त गरेको छ।

Pakyong PHC Gets New Ambulance under NHIDCL CSR Initiative

आज पाक्योङस्थित जिल्ला प्रशासनिक केन्द्र (DAC) मा आयोजित कार्यक्रममा जिल्ला कलेक्टर श्री रोहन अगवानेले उक्त एम्बुलेन्स ग्रहण गर्नुभएको हो। एनएचआईडीसीएलका कार्यकारी निर्देशक श्री अशोक कुमार साहाले औपचारिक रूपमा एम्बुलेन्स जिल्ला कलेक्टरलाई हस्तान्तरण गर्नुभएको थियो, जसपश्चात् जिल्ला कलेक्टरले उक्त एम्बुलेन्स पाक्योङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख चिकित्सा अधिकृतलाई हस्तान्तरण गर्नुभयो।

यस पहलको उद्देश्य जिल्लाभर आपतकालीन स्वास्थ्य सेवालाई सुदृढ बनाउँदै चिकित्सा पहुँच विस्तार गर्नु रहेको जनाइएको छ। एनएचआईडीसीएलले आर्थिक वर्ष २०२५–२६ का लागि उत्तर–पूर्वी क्षेत्रका आफ्ना परियोजना क्षेत्र वरपर दिगो विकास प्रवर्द्धन गर्ने लक्ष्यसहित विशेषगरी स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको छ। यसअन्तर्गत एम्बुलेन्स उपलब्ध गराउने, सरसफाइ सुविधा सुधार, बाल पोषण प्रवर्द्धन तथा ‘रिकग्निसन अफ प्रायर लर्निङ (RPL)’ योजनामार्फत सीप विकासजस्ता कार्यक्रम समावेश छन्।

कार्यक्रममा बोल्दै जिल्ला कलेक्टरले एनएचआईडीसीएलप्रति आभार व्यक्त गर्दै बेसिक लाइफ सपोर्ट एम्बुलेन्सको व्यवस्था पाक्योङ जिल्लाको अत्यावश्यक स्वास्थ्य आवश्यकतालाई सम्बोधन गर्ने बताउनुभयो। उहाँले विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका बासिन्दाका लागि आपतकालीन स्वास्थ्य सेवा सुदृढ गर्न यसले महत्वपूर्ण सहयोग पुर्‍याउने उल्लेख गर्नुभयो।

पाक्योङ स्वास्थ्य तथा परिवार कल्याण विभागका प्रमुख चिकित्सा अधिकृत डा. मदनमणि ढकालले पनि जिल्ला प्रशासन र एनएचआईडीसीएललाई धन्यवाद दिँदै यस एम्बुलेन्सले क्षेत्रमा स्वास्थ्य सेवा प्रवाह थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा जिल्ला योजना अधिकारी (DPO) पाक्योङ श्री टी.आर. क्षेत्री तथा पाक्योङ पीएचसीका अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *