अखिल सिक्किम खस क्षेत्री बाहुन कल्याण संघ (ASKCBKS) का अध्यक्ष, महासचिव तथा अन्य पदाधिकारीहरू सम्मिलित कार्यकारी टोलीले आज रिनाक (Rhenock) निर्वाचन क्षेत्रमा विभिन्न महत्त्वपूर्ण सामाजिक तथा सांगठनिक कार्यक्रमहरू सम्पन्न गरेका छन्।

टोलीले सर्वप्रथम रिनाक तार्पिनस्थित Press Club of Sikkim का अध्यक्ष श्री भीम रावतको निवासमा पुगी उहाँका पूजनीय बुवाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको थियो। यस दुःखद घडीमा संघले परिवारलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना समेत व्यक्त गर्यो।
सोही अवसरमा रिनाक तार्पिनमा एक स्थानीय सामाजिक संस्थाद्वारा आयोजित श्रीमद्भागवत महापुराणमा पनि टोली सहभागी भई आध्यात्मिक अनुष्ठानमा सरिक भएको थियो। कार्यक्रममा सहभागितामार्फत संघले सामाजिक सद्भाव, धार्मिक आस्था तथा सामुदायिक सम्बन्धलाई थप सुदृढ बनाउने सन्देश दिएको छ।
दिनभरिका कार्यक्रमहरूको समापन पछि अपरान्ह रम्फूमा आयोजित एक महत्त्वपूर्ण समन्वय बैठक सम्पन्न भएको थियो। विशेषगरी पुरानो पूर्व जिल्ला क्षेत्राधिकार अन्तर्गतका सदस्य तथा पदाधिकारीहरूको उपस्थितिमा सम्पन्न उक्त बैठकमा आगामी फेब्रुअरी २६ तारिखमा मनाइने संघको स्थापना दिवसको तयारी तथा रणनीतिबारे घनिभूत छलफल गरिएको थियो।
संघको लागि स्थापना दिवस एक ऐतिहासिक अवसर भएकाले कार्यक्रमलाई भव्य, व्यवस्थित तथा एकीकृत रूपमा सफल बनाउन ठोस योजना तथा जिम्मेवारी बाँडफाँट समेत आजको बैठकमा तय गरिएको जनाइएको छ।


















