लिङ्के माध्यमिक विद्यालयको कस्तुप जयन्तीअन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न

पाक्योङ जिल्लाको लिङ्के माध्यमिक विद्यालयले कस्तुप जयन्तीको अवसरमा विविध कार्यक्रमहरू भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा सिक्किम सरकारका शिक्षा, खेलकुद तथा कानुन मन्त्री श्री राजु बस्नेत मुख्य अतिथिका रूपमा उपस्थित थिए भने नाथाङ–माछोङ विधानसभा क्षेत्रकी विधायक श्रीमती पामिन लेप्चा विशिष्ट अतिथिका रूपमा सहभागी भइन्।

समारोहका क्रममा समाज तथा विद्यालयलाई भूमि दान गर्ने तथा अन्य महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई प्रशस्ति पत्र र दोसल्ला ओढाएर सम्मान जनाइएको थियो।

कार्यक्रममा सांस्कृतिक प्रस्तुति पनि आकर्षणको केन्द्र बन्यो, जहाँ लेप्चा, नेपाली तथा सिक्किमे भोटिया नृत्य प्रस्तुत गरिएको थियो। साथै कस्तुप जयन्ती विशेष विद्यालय गीत तथा कस्तुप जयन्ती लोगोको पनि औपचारिक लोकार्पण गरिएको थियो।

पारखा खण्ड प्रशासनिक कार्यालयअन्तर्गत रहेका पाँच वटा विद्यालयबीच आयोजित हाजिरी जवाफ प्रतियोगितामा एकलब्य मोडल रेसिडेन्सियल स्कुल प्रथम स्थान हासिल गर्न सफल भयो।

कार्यक्रमअन्तर्गत बिहान लिङ्केबाट पारखा हुँदै माछोङसम्म मिनी म्याराथन दौड आयोजना गरिएको थियो, जसमा विद्यार्थी, युवा तथा स्थानीयवासीहरूको उत्साहजनक सहभागिता देखिएको थियो।

कार्यक्रममा बोल्दै कस्तुप जयन्तीकी संरक्षक विधायक पामिन लेप्चाले विद्यालयले हासिल गरेको उपलब्धिप्रति बधाई दिँदै शिक्षा क्षेत्रको विकासमा यस्ता पहलहरू महत्वपूर्ण रहेको बताइन्। त्यस्तै मुख्य अतिथि मन्त्री राजु बस्नेतले आफ्नो सम्बोधनका क्रममा सिक्किम सरकारले शिक्षा क्षेत्रमा गरेका विभिन्न कार्यहरूबारे जानकारी गराए।

विद्यालयका प्रधानाध्यापक भुवन सापकोटाको मन्तव्यबाट कार्यक्रमको औपचारिक सुरुवात भएको थियो भने अन्त्यमा पवन बाहुनले धन्यवाद ज्ञापन गरेका थिए।

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *