सिलिगुडी, जुलाई ५:
सिलिगुडीको प्रधाननगर क्षेत्रमा सुनचाँदी पसल तथा एटीएमलाई लक्षित गरी ठूलो डकैती गर्ने योजनामा रहेका तीन जना शंकास्पद व्यक्तिलाई प्रहरीले पक्राउ गर्दै सम्भावित आपराधिक घटना हुनबाट रोकेको छ।

प्रहरीका अनुसार शनिबार राति प्रधाननगर प्रहरी चौकीको एन्टी–क्राइम विङको सादा पोसाकमा रहेको टोली नियमित गस्तीका क्रममा मिलन मोड क्षेत्रमा पुगेको थियो। सो क्रममा लामो समयदेखि शंकास्पद रूपमा घुमिरहेको एउटा कार देखेपछि प्रहरीले उक्त सवारीलाई रोकेर जाँच गरेको थियो।
जाँचका क्रममा कारबाट एउटा देशी कटुवा पेस्तोल, दुई राउन्ड जिउँदो गोली, एउटा धारिलो हतियार, चोरी तथा डकैतीमा प्रयोग हुने विभिन्न उपकरण र ठूलो संख्यामा एटीएम कार्ड बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूलाई बिहार निवासी प्रमोद कुमार साहनी, मनोज महतो र सुधीस पासवानका रूपमा पहिचान गरिएको छ। प्रारम्भिक अनुसन्धानबाट उनीहरूले सिसिटिभी क्यामेराबाट पहिचान हुन नदिन आफ्नो गाडीको अगाडि र पछाडिको नम्बर प्लेट छोपेको खुलेको छ। प्रहरीका अनुसार उनीहरू सिलिगुडीमा ठूलो डकैती गर्ने उद्देश्यसहित आएको हुनसक्ने आशंका गरिएको छ।
प्रहरीले उनीहरूको कुनै अन्तरराज्यीय आपराधिक गिरोहसँग सम्बन्ध छ वा छैन भन्ने विषयमा पनि अनुसन्धान अघि बढाएको छ। साथै, बरामद गरिएको गाडी चोरीको हो वा होइन भन्नेबारे पनि छानबिन भइरहेको छ।
आइतबार पक्राउ परेका तीनै जनालाई सिलिगुडी अदालतमा पेश गरिएको छ। थप अनुसन्धानका लागि प्रहरीले उनीहरूको रिमाण्ड माग गरेको छ। प्रहरीको विश्वास छ कि उनीहरूसँगको सोधपुछबाट सम्भावित आपराधिक सञ्जाल तथा अन्य योजनाबारे महत्वपूर्ण जानकारी प्राप्त हुन सक्छ।
