फोटोग्राफी व्यवसायका नाममा झण्डै १८ लाख ठगी गरिएको आरोपमा कालेबुङका एक युवक पक्राउ

व्यापार विस्तारको प्रलोभन देखाई झन्डै १७ लाख ९५ हजार रुपैयाँ ठगी गरेको आरोपमा कालिम्पोङ पुलिसले मन्सङ निवासी आशिष राईलाई पक्राउ गरेको छ। पीडित रुबेन खवासको लिखित उजुरीका आधारमा प्रहरीले भारतीय दण्ड संहिता (IPC) को धारा ४२० र ४०६ अन्तर्गत मुद्दा (FIR No. 39/2026) दर्ता गरी आजै उनलाई कालिम्पोङ जिल्ला अदालतमा पेस गरेको हो। रुबेनको आरोप अनुसार पुरानो मित्रताको फाइदा उठाउँदै ‘दारा प्रोडक्सन’ खोल्ने बहानामा आशिषले सो रकम लिएका थिए, जसका लागि रुबेनले आफैँ विभिन्न संस्थाहरूबाट ऋण लिनुपरेको थियो। पछि रकम फिर्ता माग्दा आशिषले दिएका तीनवटा चेक बाउन्स भए र उनले पैसा तिर्न साफ इन्कार गरे। आशिषले सो रकम व्यवसायमा नलगाई घर बनाउन, कार किन्न र अनलाइन गेमिङमा उडाएको उजुरीमा उल्लेख छ।


​अर्कोतिर, आरोपीका भाइ अमित राईले भने रुबेन खवास, अनिल सिक्वाल र आफ्नो दाजुबिच लेनदेन भएको र दाजुले अधिकांश रकम फर्काइसकेको दाबी गरेका छन्। तर यस मामिलामा नाम जोडिएका अनिल सिक्वालले यो दाबीलाई पूर्ण रूपमा खारेज गर्दै रुबेनकै मार्फत आशिषलाई चिनेको तर आफुसित कुनै आर्थिक लेनदेन नभएको स्पष्ट पारेका छन्। सिक्वालले प्रश्न गरे, “आशिषले मलाई पैसा दिएको के आधार र प्रमाण छ? जो आफैँ बजारमा करोडौँको ऋणमा डुबेको छ, उसित कसरी लेनदेन हुन सक्छ?” हाल यो मामिला अदालत पुगिसकेको हुनाले अब कानुनी रूपमै यसको अन्तिम फैसला हुनेछ।

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *