गान्तोक, २३ मई । नेपाली साहित्य परिषद्, सिक्किमको आयोजनामा साहित्यकार चक्रपाणि भट्टराईद्वारा रचित बहुचर्चित कृति बाघको दूध (भाग–तीन) को लोकार्पण तथा चर्चा–परिचर्चा कार्यक्रम आज सम्पन्न भयो।

कार्यक्रममा साहित्यकार के. एन. शर्मा मुख्य अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रमको सभाध्यक्षता परिषद्का अध्यक्ष हरि ढुङ्गेलले गरेका थिए।
लोकार्पित कृति “बाघको दूध” (भाग–तीन) लाई केवल साहित्यिक सिर्जना मात्र नभई समाज, समय, विचार र मानवीय चेतनाको बहुआयामिक अभिव्यक्तिका रूपमा हेरिएको छ। कृतिको तेस्रो भागले समकालीन यथार्थ, सामाजिक अन्तर्विरोध, मानवीय संवेदना तथा वैचारिक विमर्शलाई थप गहिराइका साथ उद्घाटित गर्ने अपेक्षा गरिएको वक्ताहरूले बताएका छन्।
लोकार्पणसँगै आयोजना गरिएको चर्चा–परिचर्चा कार्यक्रममा कृतिको साहित्यिक मूल्य, सिर्जनात्मक दृष्टिकोण तथा वैचारिक पक्षमाथि गम्भीर बहस र विमर्श गरिएको थियो। कार्यक्रममा सहभागी साहित्यकार तथा समालोचकहरूले कृतिले नेपाली साहित्यमा नयाँ विमर्शको ढोका खोलेको धारणा व्यक्त गरे।
समारोहमा सिक्किमका प्रतिष्ठित साहित्यकार, समालोचक, कवि, कथाकार, प्राध्यापक, बुद्धिजीवी तथा साहित्यप्रेमी सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूको उत्साहजनक उपस्थितिले सिक्किममा नेपाली भाषा–साहित्यप्रतिको गहिरो अनुराग, स्रष्टाप्रतिको सम्मान तथा साहित्यिक संस्कृतिको निरन्तर विकासप्रतिको सामूहिक प्रतिबद्धतालाई उजागर गरेको आयोजकले जनाएको छ।
नेपाली साहित्य परिषद्, सिक्किम ले यस्ता सिर्जनात्मक तथा बौद्धिक कार्यक्रममार्फत नेपाली साहित्यको समृद्ध परम्परालाई थप उचाइमा पुर्याउने, नयाँ पुस्तालाई साहित्यसँग जोड्ने तथा सृजनशील संवादको वातावरण निर्माण गर्ने आफ्नो उद्देश्यलाई निरन्तरता दिँदै आएको जनाएको छ।
“बाघको दूध” (भाग–तीन) को लोकार्पण कार्यक्रम नेपाली साहित्यको उत्सव मात्र नभई विचार, चेतना र सिर्जनशीलताको उज्यालो पर्वका रूपमा स्थापित हुने विश्वास व्यक्त गरिएको छ भनि नेपाली साहित्य परिषद्, सिक्किमका प्रचारप्रसार सचिव हेमराज अधिकारीले प्रेस विज्ञप्ति जारी गर्दै बताएका छन्।


