राङ्कामा 33औं नेपाली भाषा मान्यता दिवस पालन

राङ्कामा 33 औं नेपाली भाषा मान्यता दिवस पालन
युवा कवि जीवन कुमार छेत्रीको जेठो कविता कृति “नेफा ” लोकार्पण


गान्तोक,21 अगस्त। अभियान साहिय समिति राङ्का पूर्व सिक्किम र राङ्का पब्लिक स्कुलको संयुक्त आयोजनमा 33औं नेपाली भाषा मान्यता दिवस भव्यताको साथमा पालन गरियो। विशेष रूपमा स्थानीय युवा र बाल बालिकालाई साहित्य भाषामा प्रोत्साहित गर्ने ध्येयको साथ आयोजित सभ्य कार्यक्रमलाई स्थानीय समाजसेवी कपिलमणि पाण्डेले अध्यक्षता गरेका थिए। मुख्य अतिथिको रूपमा वरिष्ठ साहित्यकार श्रीमती सुधा एम राई तथा विशिष्ठ अतिथिमा साहित्यकार प्रवीण खालिङको उपस्थिति रहेको थियो।
कार्यक्रमको मुख्य आकर्षणको रूपमा युवा कवि जीवन कुमार छेत्रीको पहिलो कविता कृति “नेफा” को लोकार्पण गरियो। अध्यक्ष, मुख्य अतिथि, विशिष्ठ अतिथि तथा स्थानीय गन्यमान्य व्यक्तित्वको बाहुलीबाट कविताकृति नेफा लोकार्पण गरियो। कार्यक्रममा पुस्तकबारे पुण्य प्रसाद शर्माले मन्तव्य राखेका थिए भने कवि जीवनकुमार छेत्रीले नेफाको गर्भकथा बताउँदै सम्झनामा रख्नुपर्ने सहयोगीहरूलाई आभार प्रकट गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि सुधा एम राईले विशेष गरेर बाल बालिकालाई सभ्य जीवनको आचरण र भाषा प्रतिको मोह विकास गर्नुपर्ने दिशामा अभियान साहित्य समितिले चालेको पहलको सराहना गरिन्।
यसैगरि विशिष्ठ अतिथि प्रवीण खालिङले भाषा आन्दोलनको पृष्ठ भुमी तथा अहिलेसम्म अलिखित र उल्लेख नगरिएका भाषा संग्रामीहरूको योगदानको चर्चा गर्दै नेपाली भाषाको विकासको निम्ति गर्नुपर्ने पहलहरूबारे मन्तव्य राखे। उनले पब्लिक स्कुलहरूबाट नेपाली भाषा दशौँ श्रेणी भन्दा माथि पढाउन छोडिएको कुरालाई सम्बन्धित निकायले ध्यान दिएर त्यसबारे पदक्षेप उठाउन पर्ने आग्रह राखे। उनले भने, मान्छेले बुझ्ने भाषा बोल्दा दिमागमा पुग्छ तर मान्छेले बोल्ने भाषा बोल्दा मुटुमा पुग्छ, नेपाली भाषाले मान्यता पायो तर माया पाएको छैन सबैले माया गर्नुपर्छ। उनले भाषाको सेवामा सबैले साहित्य लेख्नु पर्छ भन्ने होइन तर लेखिएका साहित्य पढिदिनु पनि भाषा सेवा हो भनि बताए।
यसैगरि सभाध्यक्ष कपिल मणि पण्डेले भाषा संग्रामीहरूको सम्झाना गरे भने युवाहरूले नेपाली भाषालाई प्रयोग गर्ने दिशामा उत्साह देखाउनु पर्ने बताए। उनले अभियान साहित्य समितिको स्थापना र यसले क्षेत्रमा गरिरहेको कार्यहरूको सराहना गरे। उनले समितिले सबै समुदायलाई साथमा लिएर भाषा, साहित्य संस्कृतिको संरक्षण र विकासमा योगदान पुऱ्याएको बताए।
कार्यक्रममा बाल र पौढ कविहरूले प्रसस्त सुन्दर र बान्की परेका कविताहरू सुनाएका थिए। यसै गरि स्थानीय युवा कलाकारहरूले रङ्गारङ नृत्य गीत प्रस्तुत गरेर मनोरञ्जन सितै नेपाली कलालाई पनि प्रोत्साहित गरेका थिए। कुबेर भट्टराई आभाष, निलकमल छेत्री र जमुना शर्माले मञ्च सञ्चालन गरेको कार्यक्रममा राङ्का पब्लिक स्कुलकी शिक्षिका पम्पा छेत्रीले आभार मन्तव्य राखेका थिए। कार्यक्रममा सहभागि कवि, कलाकारहरूलाई अतिथिगणको बाहुलीबाट प्रमाणपत्र अनि अभियान साहित्यिक पत्रिकाको नयाँ अङ्क प्रदान गरिएको थियो।

By News Pratibeemba

News around the World

Leave a Reply

Your email address will not be published. Required fields are marked *